इनरुवा / इनरुवा–३ सखुवागाछी क्षेत्रमा भैरहेको ढल निर्माणको कार्य कमसल रहेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
कमसल सामग्री प्रयोग गरिएको र लागत स्टिमेट अनुरूपको कार्य नभएको भन्दै स्थानीयले नाला निर्माणको कार्यसमेत रोक लगाएका हुन् । ढल निर्माणको क्रममा कोशी कटान र सुनसरी खोलाको माटो मिसिएको बालुवा प्रयोग भएको स्थानीयको दाबी छ । सिमेन्टको मात्रासमेत कम प्रयोग गरिएको उनीहरूले बताएका छन् ।
गुणस्तरहीन काम भैरहँदासमेत वडाध्यक्ष भने जिम्मेबारीबाट पन्छिएको स्थानीयले आरोप लगाएका छन् । स्थानीय अगुवा रमेश अधिकारीले गुणस्तरहीन काम हुँदासमेत वडाध्यक्षले कुनै चासो नलिएको बताए । प्लाष्टर गर्न नपाउँदै उप्किने र जोडिएका इँटा भत्किन थालेपछि काम रोकिएको अधिकारीले बताए । उता वडा नम्बर ३ का अध्यक्ष कालुराम गुरुङले नगरवासीको गुनासो कतिपय अवस्थामा जायज भए पनि आफूमाथि लगाइएको आरोप भने निराधार भएको बताए । गुरुङले आफू प्राविधिक नभएको बताउँदै गुुणस्तरीय काम भए÷नभएको भन्ने विषय प्राविधिकको छानविनपश्चात् मात्र यकिन हुने बताए ।
शहरी विकास डिभिजन कार्यालय विराटनगरले साइट अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहको हकमा नगरप्रमुख, प्रशासकीय अधिकृत र इञ्जिनियरलार्ई तोकेको गुरुङले बताए । गुरुङले आफूले स्थानीयवासी र वडाध्यक्षको हैसियत स्थानीयको गुनासो अनुगमन टोलीसमक्ष राखेको र सम्बोधनका लागि यथाशक्य पहल गरिरहेको बताए । उनले ढल निर्माणका क्रममा कमसल काम भएकोे भने स्वीकारे ।
स्थानीयको गुनासो आएपछि कमसल सामान हटाउन लगाएको र कामदार तथा पेटी ठेकेदारलाई सम्झाएको बताए । यद्यपि केही व्यक्तिले आवश्यकताभन्दा बढी कुरा अनाहकमा उठाएको विषयमा सबै सत्य भने नभएको वडाध्यक्षले दाबी गरे ।यता इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले ढल निर्माणको कार्य कमसल भएको ठहरिए सम्बन्धित ठेकेदारलाई कारबाहीको सिफारिस गरिने बताएका छन् । पूर्वाधार निर्माणको कार्य गुणस्तरयुक्त हुनुपर्ने बताएका मेहताले छिट्टै अनुगमन गरी स्थानीयको गुनासो सम्बोधन गरिने बताए ।