यासोक पाँचथर/ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा छापाखाना सञ्चालन गर्दै आएका सुरेन्द्र खवासलाई प्रमाण–पत्र तयार गर्न दुईदिन लाग्यो । 
 
‘प्रमाण–पत्रको लागि दुई–चार शब्द लेख्न नपाउँदै विद्युत् एकै छिनमा झ्याप्प जान्छ, झ्याप्प आउँछ । कुनै ठेगान हुँदैन । घर भाडा तिर्नै गाह्रो छ’–उनले गुनासो गरे । लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका खवासको पीडाभन्दा कम छैन, अर्का व्यवसायी एल.बी सम्बाहाम्फेको पनि । विदेशको मोहलाई त्यागेर बजारमा सिद्धदेवी फर्निचर उद्योग सञ्चालन गरी ३ युवालाई रोजगारी दिँदै आएका उनी पटक–पटक हुने विद्युत् अवरुद्धको पीडामा पर्ने गरेका छन् ।
 
लाखौं रुपैयाँ खर्च गरेर फर्निचर उद्योग सञ्चालन गरेका उनले समयमै ग्राहकको माग पूरा गर्न नसकेको बताए । ‘धेरै ठाउँबाट घर निर्माणका सामग्रीको माग हुन्छ । मेहनत लगाएर काम गरौं भन्यो विद्युत् छिनभरमै आउने र छिन भरमै जाने गर्छ । उद्योग चलाउनै समस्या भएको छ । परिवार पाल्न त परको कुरा, कर्मचारीलाई तलब दिनसमेत समस्या भएको छ’ –चिन्तित हुँदै सम्बाहाम्फेले भने । 
 
गाउँपालिकामा हावा चल्दा र पानी पर्दा विद्युत् अवरुद्ध हुने गरेको छ । फिदिम नगरपालिकाको लुम्फाबुङ र फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा क्षेत्रमा ११ केभिए विद्युत् प्रसारण लाइनबाट विद्युत् बाल्दा कुम्मायक गाउँपालिकामा यस्तो समस्या देखापर्ने गरेको यासोक विद्युत् शाखाको भनाइ छ । अधिकांश विद्युत्का पोल र तार जङ्गलबाट विस्तार गरिएको र लुम्फाबुङ र नवमीडाँडाको बस्तीमा सोही विद्युत् प्रयोग गर्दा यस्तो समस्या देखापर्ने गरेको हो । हावा चल्दा र सामान्य पानी पर्दा जङ्गलमै विद्युत् अवरुद्ध हुने गरेको छ ।
 
फिदिम नगरपालिकाबाट ६ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा यासोकबाट २२ किलोमिटरदेखि ३० किलोमिटरको क्षेत्र छिचोलेर विद्युत् मर्मत गर्दा लामो सयम लाग्ने गरेका कारण यस्तो भएको यासोक युनिट शाखाका प्रमुख खेमराज निरौलाले बताए । कुम्मायक पुग्ने विद्युत्लाई हालको यासोक–फिदिम सडक–खण्डबाट ल्याउन र फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकामा वितरण गर्ने विद्युत् अलग्गै स्थानबाट वितरण नगरेसम्म यो समस्या समाधान नहुने निरौलाको दाबी छ । 
 
लामो समयदेखिको समस्या समाधानको लागि यासोक–फिदिम सडक–खण्डबाट विद्युत् विस्तार गर्न सङ्घीय सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । जङ्गलक्षेत्रको पोल र तार सडकतर्फ ल्याउन उक्त रकम विनियोजन गरेको पाँचथरका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले जनाए । यासोक–फिदिम ११ केभिए विद्युत् लाइनलाई भन्दा अलग्गै विद्युत प्रसारण लाइनबाट हालको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा विद्युत् वितरण गर्नुपर्ने, ११ केभिएलाई बढाएर ३३ केभिए बनाउनु पर्ने जस्ता माग स्थानीयले गर्दै आएका छन् ।
 
११ केभिए विद्युत् प्रसारण लाइनबाट कुम्मायक र तुम्बेवा गाउँपालिकाका ७ हजार बढी घरधुरीले विद्युत् उपभोग गर्नेछन् । दुवै गाउँपालिकामा ग्रामीण विद्युतीकरण र तमोर लिफ्ट खानेपानी योजनासमेत अघि बढ्दै आएकाले क्षमता बढाउने विषयमा जनप्रतिनिधि र स्थानीयको आवाज एउटै छ ।