इटहरी/ तीन वर्षअघि इटहरी–६ नयाँबस्तीमा प्रतिधुर ६ लाख हालेर डम्बर कार्कीले ५ धुर जग्गा किनेका थिए । उनले त्यो जग्गामा घर पनि बनाए । अहिले अदालतबाट सो जमिन किनबेच गर्न र संरचना बनाउन रोक लगाएको पत्र पाएपछि कार्की समस्यामा परेका छन् ।
सोही ठाउँमा ७ धुर जमिन खरिद गरेका पुष्कर चापागाईं पनि अदालतले पठाएको पत्रले तनावमा छन् । उनीहरूजस्तै नयाँबस्तीका दर्जनौं परिवार अहिले समस्यामा परेका छन् । केही वर्षअगाडि इटहरीका प्रेम बस्नेत र किसनकुमार खेडियाले प्लटिङ गरेर विभिन्न व्यक्तिलाई जग्गा बिक्री गरेका थिए । तर सो जग्गामा पूर्वराजपरिवारका सदस्य रविविक्रम शाहले अंश मुद्दा हालेपछि सुनसरी जिल्ला अदालतले एक बिगाहा ४ कठ्ठा तीन धुर जमिनमा संरचना निर्माण र किनबेचमा रोक लगाएको पत्र पठाएको हो ।
जग्गा किन्ने बेलामा आफूलाई विवाद बारे केही थाहा नदिएको भन्दै कार्की त्यसको जिम्मेवारी बस्नेत र खेडियाले लिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘कतिले घर बनाइसके, कसैले बनाउँदैछन् । यस्तो अवस्थामा अदालतको पत्र आउँदा छक्क परेका छौं ।’
जग्गा किनेका चापागाईं पनि मुद्दा मामिलामा परेको जमिन आफूलाई जानकारी नदिई बिक्री गरिएकाले यो विवाद खेडिया र बस्नेतपक्षले तत्काल मिलाउनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले हामीलाई तनाव दिने काम भइरहेको छ । यो समस्या चाँडै समाधान होस् ।’
उनीहरूलाई जग्गा बिक्री गर्ने किसन खेडिया २१ वर्षअघि हरि दङ्गालमार्फत् खरिद गरेको जग्गामा शाह परिवारले मुद्दा हालेको जानकारी आएको बताउँछन् । सो जग्गामा यसअघि पनि मुद्दा परेको थियो । पहिलेको मुद्दा आफूहरूले जितेरै प्लटिङ गरेको उनको खेडियाको भनाइ छ । उनले आफूहरू कानूनीरूपमा बलियो भएकाले जग्गाधनीहरूले चिन्ता गर्नु नपर्ने उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौंलागाईंले भने उक्त जग्गामा निर्माणाधीन संरचना यथास्थितिमा राखिदिन भन्दै जिल्ला अदालतले पत्र पठाएको बताए । अहिले उक्त जग्गामा संरचनाहरू नबनाउन आदेश आएको इन्स्पेक्टर चौंलागाईंको भनाइ छ ।
































