भद्रपुर/ देशमा भनेजस्तो रोजगारी नपाएपछि प्रायः पुरुषहरू रोजगारीको लागि विदेश जान बाध्य हुन्छन् । घर वा कोठा भाडामा लिएर श्रीमतीसँगै सन्तानलाई छाडेर परिवार चलाउन विदेश गएका कतिपय श्रीमानले जसोतसो गरेर रकम पठाइरहेका हुन्छन् ।
 
विश्वासको आधारमा पठाएको रकम स्वदेशमा रहेकी श्रीमतीले दुरूपयोग गरी श्रीमान् आउँदा रकम त के श्रीमती र सन्तानसमेत वेपत्ता भएका घट्ना समाजमा धेरै छन् । तर, अर्कोतर्फ श्रीमान्ले पठाएको थोरै रकमलाई जोहो गरेर सदुपयोग गरिरहेको घटना पनि यही समाजमा पाइन्छन् ।
 
झापामा यस्तै उदाहरणीय कार्यमा संलग्न भद्रपुर १० का उमेश पौडेलले ६ वर्ष विदेशमा श्रम गर्दै केही रकम श्रीमतीलाई पठाउँदै गरे । पठाएको रकममध्ये बचेको ७० हजार रुपैयाँले उनकी श्रीमती टीका भण्डारी पौडेलले यो रकमबाट केही गर्नु पर्छ भन्ने सोच बनाइन् ।
 
उनले श्रीमानसँग सल्लाह गरिन् र ६ महिना अघि घरैमा विभिन्न स्थानबाट सुख्खा सुपाडी ल्याएर टुक्रा बनाउँदै बजारमा अर्डर लिन थालिन् । शुरुमा त रातभर काम गरेको उनले सुनाइन् । छोरीलाइ गृहकार्य गराएर सुताएपछि मेरो काम शुरु हुने गरेको उनले बताइन् ।
 
बजारमा सुपाडीको बिक्री हुन थालेपछि उनले सभ्यता प्याकेजिङ उद्योग दर्ता गराइन् । त्यसपछि शनिश्चरे, बिर्तामोडलगायतका क्षेत्रबाट सुपाडी खरिद गर्न शुरु गरिन् । हाल ५ जना कर्मचारी र पौडेल दम्पतीसहित दिनभर काममा व्यस्त देखिएका छन् । मासिक ४ सय किलो सुपाडी बजारमा खपत हुने गरेको टीकाले सुनाइन् । सराैँतोले टुक्रा पारेका सुपाडीलाई छानेर प्याकेजिङ गरी अर्डरअनुसार बजार पु¥याउने उमेशले जनाए । हाल मुख्य बजार नै चन्द्रगढी र भद्रपुर क्षेत्र रहे पनि भविश्यमा झापाभरी पुर्याउने लक्ष्य रहेको उनले बताए । 
 
बिदेशमा भन्दा बढी रकम सुपाडी बेचेर कमाउने गरेको उनको भनाइ छ । श्रीमतीले शुरु गरेको व्यवसायमा खुसी हुँदै अब बिदेश नजाने घोषणा उमेशले गरेका छन् । हाल मासिक ३० हजार रकम खर्च हुदै आएको छ भने नाफा पनि बढ्दै गइरहेको उनले जनाए ।
 
केही महिनापछि दालचिनी, मरिच, मसलासमेतको प्याकेजिङ शुरु गरिने उनीहरूले निश्कर्ष निकालेका छन् । घरमा टिभी र मोबाइल हेरेर समय बिताउनु भन्दा केही गर्न उचित लागेर यस्तो काम गर्दै आएको उषा अधिकारीले बताइन् । काम खोज्न बाहिर जाँदा धेरै समस्या आउने भएकोले महिलाहरूको लागि यो काम उचित भएको सङ्गीता निरौला बताउँछिन् ।