कटहरी(मोरङ)/ मोरङको कटहरी गाउँपालिका–२ की चम्पा ऋषिदेव आर्थिक अवस्था नाजुक भएकी सुकुम्बासी हुन् । उनी रिङरोडछेउमा पानी पर्दा छल्ने सानो टहरा बनाएर बसोबास गरेको वर्षौं भयो । चार जनाको परिवार यस टहरामा बस्दै आएका छन् । चम्पाजस्तै दयारानी ऋषिदेवको परिवार पनि सोही ठाउँमा सानो टहरा बनाएर कष्टकर तरिकाले जीवनयापन गर्दैछन् । पुस, माघको चिसो बतास चल्दा घर भित्र मुटु काम्ने जाडो हुने गरेको उनीहरू बताउँछन् ।
यसरी अनेकौं दुःख–कष्ट सहेर वर्षौंदेखि यहाँका १० घरपरिवार दलित समुदायका आर्थिक अवस्था दयनीय रहेका सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन् । व्यवस्थित रूपमा घर नहुँदा यहाँका दलित सामुदायका ऋषिदेव परिवारले भोग्नुपरेको समस्या अब चाँडै अन्त्य हुँदैछ । कटहरी गापा–२ का वडाअध्यक्ष किशोर पाण्डेको सक्रियतामा सुकुम्बासी समस्याको हल हुने निश्चित भएपछि उनीहरू हर्षित देखिन्छन् ।
‘पानी पर्दा घरभित्र पस्ने, जाडोमा शीतलहर चल्दा ओछ्यानमा चुहिने यस्ता अनेकौं समस्याको समाधान चाँडै हुँदैछ’ शनिबार सबेरै कटहरी गाउँपालिका–२ को वडा कार्यालयले सुकुम्बासीको लागि आवास सहितको भवनको शिलान्यास कार्यक्रममा पुगेकी पार्वती ऋषिदेवले भनिन्, ‘नेताहरूले चुनावमा उठाएको आफ्ना एजेण्डा पूरा गर्दैछन् ।
हामीले आवाससहितको नयाँ पक्की घर पाउँदैछौं ।’ बरण्डासहितको नयाँ पक्की घर स्थानीय सरकारले उपलब्ध गराइदिने भएपछि पार्वती निक्कै हर्षित भइन् । आवाससहितको भवन शिलान्यास गर्न जग उठाएको संरचना हेर्दै पार्वतीले भनिन्, ‘हामी पनि पक्की घरमा बस्न पाउने भएका छौं । फुसको छानोमा बसोबास गरेको वर्षौं भयोे । पक्की घरमा बस्दाको अनुभूति कस्तो हुने हो त्यो हेर्न बाँकी छ ।’
कटहरी गापा–२ को योजनाअनुसार वडाअध्यक्ष पाण्डेले प्रतिघर २ लाख ५० हजार रुपैयाँमा १० घर सुकुम्बासीको लागि २५ लाख लागतमा आवाससहितको घर निर्माण भइरहेको जानकारी दिए । १० घर परिवारको लागि २ कठ्ठा डेढ धुर जमिनमा सुकुम्बासीको लागि आवाससहितको भवन धमाधम निर्माण भइरहेको छ । चालू आर्थिक वर्षको असार मसान्तभित्रमा नयाँ घर सुकुम्बासीलाई हस्तान्तरण गर्ने योजनाको साथ काम भइरहेको वडाअध्यक्ष पाण्डेले बताए ।
‘सुकुम्बासी समस्याको समाधान गर्न लागिपरेका छौं’ वडाअध्यक्ष पाण्डेले भने, ‘आफ्नो कार्यकालमा यसरी नै कटहरीमा सुकुम्बासी समस्या समाधान गर्नेछु ।’ वडाकार्यालय कटहरीले जीवन विकास र हेविटेण्ट नेपालको सहकार्यमा सुकुम्बासीको लागि आवाससहितको घर निर्माण गरेको हो । ‘अहिले सुकुम्बासीको लागि आवाससहितको घर धमाधम निर्माण भइरहेको छ । निर्माण कार्यमा घर पाउने धनीले पनि श्रमदान गर्नुपर्ने हुन्छ । शनिबार कुन घर कसलाई पर्ने हो, त्यसको लागि चिठ्ठा गर्नेछौं’ वडाअध्यक्ष पाण्डेले भने, ‘निष्पक्ष गर्नको लागि हामीले यस्तो विधि अपनाएका हौं ।
जसको भागमा कुन घर पर्छ, उसले आफ्नो घरको निगरानी गर्नुपर्ने हुन्छ ।’ कतिको गुणस्तरीय घर बन्दै गरेको छ, त्यसको निगरानी राख्न वडाअध्यक्ष पाण्डेले घरधनीलाई आग्रहसमेत गरे । घर निर्माण भएपछि वडा कार्यालयले १० घर सुकुम्बासीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नेछ ।
शिलान्यास कार्यक्रममा बोल्दै सङ्घीय सांसद् अमनलाल मोदीले कटहरी गापाको १० घर परिवार चाँडै सुकुम्बासी समस्या बाट मुक्त हुने भएकोले अब शिक्षाको खाँचो रहेको बताए । उनले आफ्ना छोराछोरीलाई शिक्षाको पहुँचमा लैजान आग्रह गरे । कार्यक्रममा कटहरी गाउँपालिका प्रमुख रामकुमार कामतले कटहरीलाई यसरी नै आगामी दिनमा सुकुम्बासी समस्या समाधान गर्न लागिपर्ने बताए । उनले अन्य वडाको पनि सुकुम्बासी समस्या हल गर्दै गाउँपालिका अगाडि बढ्ने बताए ।
































