धनकुटा/ धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धआश्रमलाई प्रदेश १ कै पहिलो वृद्धग्राम निर्माण गर्न सरोकारवालाले माग गरेका छन् । 
 
विश्रान्तिको वार्षिक साधारणसभाका क्रममा सहभागी अतिथिले वृद्धाग्राम बनाउन माग गरेका हुन् । पितृ भवन समुद्घाटन समारोहमा सहभागी सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरूले विश्रान्ति मन्दिरलाई प्रदेश १ मै पहिलो वृद्धग्राम निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।
 
हाल विश्रान्ति मन्दिर व्यवस्थापन समितिले सञ्चालन गरेको वृद्धवृद्धाश्रममा ४५ जना वृद्धवृद्धाहरू आश्रय लिइरहेका छन् । उनीहरूले ४ दशक देखि विश्रान्ति मन्दिर व्यवस्थापन समितिले वृद्धवृद्धाहरूको सेवा गरिहेकाले थप व्यवस्थित बनाएर अघि बढ्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदेश स्तरीय वृद्धग्राम निर्माण गरिनुपर्नेमा जोड दिए । 
 
सभामा विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन गोठालेले आर्थिक वर्ष ०७४/०७५ मा एक करोड, ५६ लाख, ९२ हजार, १ सय १२ बराबरको आय–व्यय प्रस्तुत गरे । सो अवसरमा उनले ०७४ साल श्रावणदेखि ०७५ साल असार मसान्तसम्मको आय–व्यय सार्वजानिक गरेका हुन् । त्यसैगरी उनले आव ०७४/०७५ मा भएको ३ करोड, ११ लाख, ७४ हजार, ४ सय ५३ बराबरको संस्थाको प्राप्ति तथा भुक्तानी विवरणसमेत सार्वजनिक गरेका छन् ।
 
उनले धनकुटा नगरपालिका र वडा नं.९ का वडाध्यक्ष सन्दीप रायमाझीको विशेष पहलमा आव ०७५/०७६ को प्रदेश सरकारको ४५ लाख बजेटबाट धरान धनकुटा सडक छेउको मुलगेटदेखि मन्दिर परिसरसम्म करिब २ सय ५० मिटर सडक कालपत्रे गरिने बताए । साथै उनले प्रदेश सरकारकै २५ लाख बजेटबाट विश्रान्ति मन्दिर र आसपासको क्षेत्रमा आवश्यकता महसुश गरी क्रियापुत्रीहरूलाई नुहाउनको लागि उच्चकोटीको स्नान कक्ष, बाथरुम र शौचालय निर्माण गरिने पनि प्रतिवेदनमा उल्लेख छ ।
 
त्यसैगरी साधु, सन्त, महन्तहरूको भरणपोषणको लागि भनेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट २ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको पनि बताइएको छ । वृद्धवृद्धाहरूको स्तनपान साथै दही, घ्यूको लागि वृद्धाआश्रममा १० वटा गाईपालन गरिरहेको पनि उल्लेख छ ।
 
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न सभामा राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरूलाई मात्र प्रदान गरिने संस्थाको सम्मानित सदस्यता दाता कृष्णगोपाल श्रेष्ठलाई प्रदान गरिएको थियो । यसअघि मरणोप्रान्त विश्रान्ति मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष रामनारायण श्रेष्ठलाई प्रदान गरिएको थियो । दाता श्रेष्ठले मन्दिर निर्माणपश्चात् वृद्धवृद्धा एवम् मन्दिर सञ्चालनको लागि सहयोग पुर्याउने उद्देश्यले हरेक वर्ष २५ क्विन्टल चामल प्रदान गर्दै आएका छन् ।
 
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शारदा मिश्रको अध्यक्षतमा सम्पन्न साधरणसभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष विकास प्रधान प्रस्तुत गरे । त्यसक्रममा झमककुमारी साहित्यकला प्रतिष्ठान धनकुटाका अध्यक्ष गोपाल गुरागाईं, धनकुटा बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख निरञ्जन वस्ती, जेष्ठ नागरिक सङ्घ धनकुटाका अध्यक्ष रामबहादुर श्रेष्ठ, समाजसेवी राजेन्द्र प्रधानलगायतले शुभकामना दिए ।