सिरहा/ २०६२/०६३ को जनआन्दोलनको प्रभावका कारण देशमा ठूला–ठूला परिवर्तन भए । देशमा राजामहाराजा फालिए । गणतन्त्र प्राप्त भयो । देशले संविधान नै प्राप्त ग¥यो । तर, सिरहाको लहान नगरपालिका–३ मा निर्माण शुरु भएको बसपार्क भने जनआन्दोलनकै कारण थलिएको छ ।
 
२०६१ सालदेखि निर्माण शुरु भएको केही समय बित्न नपाउँदै जनआन्दोलन शुरु भएपछि तत्कालीन समयको समितिले काम अगाडि नबढाउँदा बसपार्क थलिएको छ । १४ वर्षदेखि बसपार्कको काम पूर्ण भएको छैन । बसपार्क पूर्ण नहुँदा सञ्चालनमा आउन सकेको छैन । जसका कारण बसहरू जथाभावी पार्किङका कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । 
 
तत्कालीन समयमा लहान नगरपालिकाले स्थानीय निजी कम्पनी लहान ट्रान्सपोर्ट टर्मिनल म्यानेजमेन्ट प्रालिलाई बसपार्क निर्माणको जिम्मा दिएको थियो । प्रालिले कामसमेत अगाडि बढाएको थियो । केही संरचना पनि बने । तर, पूर्ण नहुँदा सञ्चालनमा आउन नसकेको हो । कुल ७ करोडको लागतमा बसपार्कसम्म जाने ग्राभेल सडक, पसल सञ्चालन गर्ने सटरहरू, शौचालय तथा प्रहरी बिट निर्माण भइसकेको छ । लहानस्थित सप्तऋषि नर्सिङ होमदेखि १०० मिटर दक्षिणस्थित करिब ३ बिघा क्षेत्रफलमा बसपार्क निर्माण भएको छ ।
 
तर, सञ्चालनका लागि पटक–पटक पहल गरिए पनि सञ्चालन हुन सकेको छैन । बस व्यवसायीहरूले उक्त बसपार्कमा बस लानसमेत हिच्किचाउँदै आइरहेका छन् । जसका कारण भौतिक पूर्वाधारहरू प्रयोगविहीन बनेका छन् ।  बसपार्क सञ्चालनमा नआउँदा बसहरूलाई मुख्य राजमार्गमै पार्किङ गरी ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाउने गरेको स्थानीयको आरोप छ ।
 
स्थानीयका अनुसार सम्बन्धित निकायले चासो नदेखाउँदा बसपार्क सञ्चालनमा नआएको हो । बसपार्क सञ्चालन नहुँदा मूल सडकमै सवारी पार्किङ गरिदिँदा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख इन्स्पेक्टर मिलन बस्नेतले बताए । उनले दुर्घटनासमेत हुने गरेको बताए । 
 
निर्माण कम्पनीका सञ्चालक समिति सदस्य विनोद साहले बसपार्कको भौतिक पूर्वाधार निर्माण गरिसकेको बताए । ‘बसपार्क निर्माण भएपछि केही वर्षअघि ४–५ महिना जति बसपार्कबाट बसहरू सञ्चालन भएको थियो, तर त्यसपछि बस व्यवसायीहरूको दबावमा फेरि बन्द भयो’ उनले भने ।
 
उनले नगरपालिका र कम्पनीबीच ३५ वर्षसम्मका लागि बसपार्क सञ्चालन गर्ने सम्झौता भएकाले यहीँ बसपार्कबाट बस सञ्चालन गर्न नगरपालिकाका जनप्रतिनिधिहरूसँग पटक–पटक आग्रह गरेको सञ्चालक समिति सदस्य साहको भनाइ छ । छलफलमा नगरपालिकाका प्रमुख मुनी साहले बसपार्क सञ्चालनमा ल्याउन पहल र प्रयत्न गरिने प्रतिबद्धता जनाउँदै आएको उनले बताए । 
 
लहान नगरपालिकाका प्रमुख साहले बसपार्क सञ्चालन के कारणले रोकिएको हो त्योबारे आफू जानकार नभएको प्रष्ट्याए । उनले भने, ‘बसपार्कबाट बस सञ्चालन हुनुपर्दथ्यो, तर किन सञ्चालन नभएको हो त्यसबारे बुझेको छैन अब बुझ्छु ?’  लामो समयदेखि बसपार्क सञ्चालन नभएपछि लहान–१ सिङ्राहीमा नगरपालिकाले नयाँ बसपार्क निर्माण थालेको नगरपालिकाका इञ्जिनियर तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत सत्रुधन चौधरीले जानकारी दिए । तर, किन यसो गरियो भन्नेमा यथेष्ट जवाफ भने उनले दिन सकेनन् । बसपार्कमा करिब ६ सय सवारी पार्किङ गर्न सकिन्छ ।