पथरीशनिश्चरेर मोरङको पथरीशनिश्चरे १ स्थित पथरी बजारको सडकमा टाउकोमा चोक लागेको अवस्थामा एक युवा मृत फेला परेका छन् ।

पथरीशनिश्चरे ७ निवासी २६ वर्षीय चर्णराज गुरुङ टाउकोमा चोट लागेको र मुखबाट रगत आइ मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

मादक पदार्थको गन्ध सहित गोरर्खा डिपार्टमेन्ट स्टोर र सुमन श्रेष्ठको घरबीचमा पर्ने दक्षिणको सडकमा घोप्टो परेको अवस्थामा बिहीबार राती साढे ११ बजे शव फेला परेको थियो ।

राती श्रेष्ठको घरमा रहेको सिक्का बारमा मादक पदार्थ सेवन गरेका गुरुङको सामान्य भनाभन भएको थियो । त्यसपछि सो तलाबाट ओर्लिएका उनी एक्कासी सडकमा मृत अवस्थामा भेटिएको पथरी प्रहरी प्रमुख कमल बजगाईंले जनाए ।

मृतक पक्षले भनें बार रहेको भन्दा १ तलामुनीबाट गुरुङ तल खसेको जिकिर गरेका छन् । उनीहरुले बार सञ्चालकमाथि कारवाहीको समेत माग गरेका छन् । बार सञ्चालक, गुरुङसँगै आएका युवाहरु र बारमा भेला भएका युवाहरुमाथि सोधपुछ गरिरहेको बजगाईंले बताए ।

सो घटनाका बारेमा यकिन भइनसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि उर्लावारीस्थित मंगलवारे अस्पताल लगिएको छ ।