मधुमल्ला/ दक्षिणी इलामको चुरे क्षेत्रमा काठ तस्करी बढ्दै गएको छ । विगत केही समयदेखि यस क्षेत्रका वनहरूमा अधिक रूपमा तस्करी मौलाएको स्थानीय बताउँछन् ।
दक्षिणी इलामको चुलाचुली–६ तोरीबारीस्थित रमिते सामुदायिक वन क्षेत्रबाट काँचो काठ काट्दै गरेको अवस्थामा १९ क्यु.फिट काठ डिभिजन वन कार्यालय चुलाचुलीले मङ्गलबार बरामद गरेको छ । यस्तै बुधबार पनि डिभिजन कार्यालयले अवैध काठ कटानमा संलग्न भएको आशङ्कामा चुलचुली–६ का सन्तवीर तामाङलाई वन कार्यालयले नियन्त्रणमा लिएको छ । करिब ३२ क्यु.फिट काठ बरामद गरिएको बताइएको छ ।
काठ कटानमा संलग्नको खोजी गरी वन नियमअनुसार कारबाही गरिने वन कार्यालय इलामका जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले बताए । रमिते सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष कृष्णबहादुर बुढाथोकीले तस्करीमा संलग्न रहेको आशङ्कामा बुझ्न दुवैलाई बोलाउँदा नआउने गरेको बताए । उनका अनुसार गोपाल दर्जी र सोमबहादुर विक सम्पर्कमा आउन नमानेका हुन् । उनीहरू यसअघि पनि कारबाहीमा परेको उनले बताए । समूहको सम्पर्कमा नआउनेलाई सोधपुछ गरी कानूनी दायरमा ल्याउन सवडिभिजन कार्यालय चुलाचुलीलाई सामुदायिक वनले लेखी पठाएको अध्यक्ष बुढाथोकीले बताए ।
सखुवाको काठ बरामद
सवडिभिजन कार्यालय र इलाका प्रहरी कार्यालय चुलाचुली इलामको संयुक्त गस्ती टोलीले मङ्गलबार राति काठ ओसार–पसार गर्न प्रयोग गरिएका २० वटा साइकल र ४ जनालाई पक्राउ गरेको छ । बुधबार पनि चुलाचुली–६ बाट ३२ क्यु.फिट सखुवाको काठ बरामद गरेको छ । पक्राउ पर्नेहरूमा माङ्सेबुङ–४ का सबिन लिम्बू, राजु लिम्बू, सुमित राई र सगुन राई रहेका छन् ।