विराटनगर / मोरङको रङ्गेलीस्थित एक किशोरको हत्या गर्न ५० हजार रुपैयाँ सुपारी लिएर हत्या गर्ने अभियुक्तलाई अदालतले फैसला गरेको आठ वर्षपछि पक्राउ परेका छन ।
रङ्गेली – ४ का अमरलाल साहको १७ वर्षीय छोरा उपेन्द्र साहको हत्या अभियोगमा अदालतले २० वर्ष कैद फैसला सुनाएको सोही ठाउँका ४० वर्षीय ठेङ्वा भनिने रमेश साहलाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।
साहको हत्या भिनाजु पर्ने शम्भु साह र रमेशले ०६७ चैत ८ मा गरेका थिए । त्यतिबेला साहको हत्या गरी शौचालयको ट्याङ्कीभित्र शव फालिएको थियो । हत्या भएको तीन वर्षपछि साहको कंकाल तथा उनले लगाएको भेस्ट र ज्याकेट हत्यामा संलग्न इन्द्रलाल मण्डलको शौचालयबाहिर ०७१ कात्तिक १४ मा फेला परेको थियो । उपेन्द्रलेलगाएको ज्याकेट र भेस्ट फेला परेपछि प्रहरीलाई हत्यारा पक्राउ गर्न सजिलो भयो ।
हत्यारा पत्ता लगाउन सक्रिय मोरङ प्रहरीले विशेष प्रहरी टोली परिचालन गरी हत्याका मुख्य योजनाकार शम्भुलाई १३ पुस २०७४ मा रङ्गेली बजारबाट पक्राउ गरी विराटनगर कारागार यस अघि नै चलान गरेको थियो । शम्भुले नातामा साला पर्ने उपेन्द्रको हत्या गरि सम्पती हडप्ने उद्देश्यले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । शम्भुको ससुरालीपटी एक मात्र छोरा रहेकोले उपेन्द्रको हत्या गरि श्रीमतिको नाममा रहेको सम्पूर्ण सम्पती हात पर्ने भएकोले त्यही अनुरुप हत्या गरेको बताइएको छ ।
प्रहरीले रमेशलाई रङेगलीबजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । ‘कर्तब्य ज्यान मुद्दामा लामो समयदेखि फरार भइ भारत बस्दै आएका थिए,’ डिएसपी श्रेष्ठेले भने, ‘घर आएको जानकारी प्राप्त भएपछि रमेशलाई प्रक्राउ गरिएको हो ।’ पक्राउ परेका रमेशलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएर आइतबार कारागार पठाउने तयारी गरेको छ ।
यसरी भएको थियो हत्या
शम्भुले सालाको हत्या गर्ने योजना पहिलेदेखि नै बनाएका थिए । उनले सालाको हत्या गर्न सहयोगी ठेकुवा भनिने रमेश साहलाई १ लाख रुपैयाँ दिने सहमति गरेका थिए । शम्भुले उनीलाई ५० हजार रुपैयाँ एडभान्स दिए र काम सकिएपछि बाँकी पैसा दिने सहमति भएको थियो । हत्या गर्न मृतक उपेन्द्रलाई घरबाट बोलाएर उनले मार्ने योजना बनाएको ठाउँमा र्पुयाए । उक्त ठाउँमा शम्भु र ठेङ्वा भनिने रमेश पनि पुगे । त्यतिबेला रातको ११ बजेको थियो । उनीहरूले गाउँटोल सुनसान भएपछि उपेन्द्रलाई मार्ने योजना बनाएका थिए । रमेशले मृतक उपेन्द्रको खुट्टा पक्रिए, शम्भुले हात समाते अनि घाँटी थिचेर उनको हत्या गरे । हत्यापछि उनीहरूलाई शव लुकाउन समस्या भयो । उनीहरूमध्ये रमेशले शव लुकाउने जुक्ति निकाले । शौचालयभित्रको रिङमा मृतकको शव हालेका थिए ।
राती नै उनीहरूले साथी इन्द्रलाल मण्डललाई बोलाए । उपेन्द्रको हत्या गरेको विषयमा इन्द्रलाललाई जानकारी गराउँदै उनीहरूले हत्या गरेको कुरा कसैलाई भनिस् भने परिवारलाई सखाप पारिदिने धम्की दिएका थिए । ज्यान मार्ने धम्की पाएपछि इन्द्रलाल चुपचाप बसे । हत्याराहरूले उनकै शौचालयको रिङभित्र उपेन्द्रको शव हाले र माथिबाट ढक्कन लगाइदिए ।
जिल्लाबाट सफाइ पाएका अभियुक्तलाई उच्च अदालतले २० बर्षको कैद सजाय सुनायो
उपेन्द्रको हत्याको आरोपमा रमेशलाई जिल्ला अदालत मोरङबाट ०७३ वैशाख २८ गतेकोे फैसला अनुसार १ वर्ष ५ दिन कैद भुक्तान गरी सफाई पाएका थिए । सोही मुद्दामा उच्च अदालतले ०७४ जेठ ३० गते उनलाई २० वर्ष कैद सजायको फैसला सुनायो । उक्त फैसला रीतपूर्वक नभएको भन्दै सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेपछि ३० जेठ २०७४ मा उच्च अदालत विराटनगरले जिल्ला अदालतको फैसला उल्ट्याएर अभियुक्त शाहलाई २० वर्षको सजाय सुनाएको थियो । अदालतले फैसला गरेपछि फरार थिए । आइतबार घर आउने प्रहरीले जानकारी पाएपछि इप्रका रङ्गेलीले पक्राउ गरेको हो ।
































