सप्तरी/सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कन्कट्टाबाट करिब तीन लाख रुपैयाँ मूल्य बराबरको अवैध मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान भन्सार छली गरी भारततर्फ लैजादै गरेको अवस्थामा को १ ख १९२७ नम्बरको मिनी ट्रक, स.१ ह.२८५९, स.१ ह.३०८२ र स.१ ह.२७२२ नम्बरको अटो रिक्सामा लोड गरिएको अवस्थामा मदिरा बरामद गरेको हो ।

चार वटै सवारीका चालकलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी मौवा, सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सप्तरी बलान बिहुल गाउँपालिका–४ बलान खोलाबाट भन्सार छली गर्दै भारततर्फ लादै गरेको अवस्थामा अन्दाजी तीन लाख एघार हजार मूल्य बराबरको ६५ ओटा गाई र गोरु शनिबार राती नियन्त्रणमा लिएका प्रदेश प्रहरी कार्यालय, प्रदेश २ का प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी दानबहादुर थापा बताए ।