विराटनगर / विराटनगरस्थित नागरिक उड्यान कार्यालयमा काम गर्ने कर्मचारीले दिएको सूचनाको आधारमा पेट्रोलियम पद्धार्थको चोरी हुने गरेको खुलेको छ । उक्त कार्यालयबाट ४ सय लिटर डिजेल चोरीमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर– ४ का १८ वर्षिय भोला यादव, सोही ठाउँका २२ वर्षिय अमित यादव, १९ वषिर्य रामचन्द्र यादव र सोही ठाउँका ४८ वर्षिय भोला यादवलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको व्यक्ति मध्धे भोला लामो समयदेखी नागरिक उड्यान कार्यालयमा चौकीदारको रुपमा काम गर्दै आएका कर्मचारी हुन् । उनले दिएको सूचनाको आधारमा चोरी हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका व्यक्ति मध्ये नागरिक उड्यान कार्यालयमा चौकीदार गर्ने भोला यादवले दिएको सूचनाको आधरमा कार्यालय परिसरमा स्टोरमा रहेको डिजेल चोरी हुने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले बताए ।
‘पुस २३ गते ३७९ नम्बरको चलानी नम्बरबाट तेल चोरी भएको र अनुसन्धान गरिदिन नागरिक उड्यान कार्यालयबाट हाम्रो कार्यालयमा निवेदन आयो,’ एसपी केसीले भने, ‘अनुसन्धान गर्दै जाँदा लामो समयदेखी त्यस कार्यलयमा चौकीदार कम गर्दै आएका भोला यादवले दिएको सूचनामा तेल चोरी भएको देखियो ।’ प्रहरीले उनीहरूलाई पक्राउ गरे पछि ९० लिटर डिजेल समेत लुकाइरहेको अवस्थामा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । कार्यालयबाट चोरी गरेको डिजेल बजार मुल्यभन्दा सस्तोमा विक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । कार्यालयमा तेल आएको भोलीपल्ट नै चोरी भएको अनुसन्धानबाट देखिएको एसपी केसीले बताए । तर, सो कार्यालयले भने एक सातापछि मात्र तेल चोरी भएको थाहा भएको बताएको छ ।
नागरिक उड्यान कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले आफु आएपछि पहिलो पटक कार्यालय परिसरभित्रबाट तेल चोरी भएको बताए । ‘पुस ८ गते तेल हाम्रो कार्यालयमा आएको थियो,’ कार्यालयका प्रमुख सिटौलाले भने, ‘१५ गतेमात्र तेल चोरी भएको थहाँ भयो । त्यसपछि प्रहरीमा निवेदन दिएका हौं ।’
प्रहरीले पक्राउ गरेको चारै जनालाई मोरङ अदालतमा मुलुकी अपराध (सिंहता) ऐन २०७४ बमोजिम चोरी मुद्दामा म्यात थप गरि अनुसन्धान गर्दै अगाडी बढाएको एसपी केसीले जानकारी दिए ।