धनकुटा । धनकुटाको हिले बजारमा तीन महिनाअघि हत्या गरिएका रामबाबु चौधरी हत्यामा आफ्नै श्रीमती योजनाकार रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले शुक्रबार हत्यामा संलग्न श्रीमती प्रिया चौधरी र उनको प्रेमी सुजन राईलाई सार्वजनिक गरेपछि योजनाकार श्रीमती रहेको खुलेको हो । हिलेमा दशैंतिहारलाई लक्षित गर्दै लगाइएको रमाइलो मेलामा कात्तिक १६ गते राति हत्या गरिएको अवस्थामा रामबाबुको शव फेला परेको थियो । हत्यामा मुख्य योजनाकारको रूपमा पत्नी नै रहेको खुलेको छ ।
रामबाबु इटहरी–१५ निवासी हुन् । हत्यामा पत्नी प्रियाले उनको प्रेमी धनकुटा साँगुरीगढी गाउँपालिका–९ स्थायी घर भई सुनसरीको वराहक्षेत्र–५ बस्दै आएका सविन राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो । लामो समयको अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । पक्राउपछि उनीहरूबीच प्रेम सम्बन्धका कारण श्रीमानको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।
जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले घटना भएको तीन महिनापछि माघ १६ गते उनीहरूलाई पक्राउ गरिएको एसपी गुरूङले बताए । प्रियालाई इटहरी–१५ स्थित घरबाट पक्राउ गरिएको थियो भने राईलाई पनि वराहक्षेत्र–५ स्थित आफ्नै घरबाट बुधबार रातको २ बजे पक्राउ गरिएको हो । राईको घरभित्र लसुन राखेको कार्टुनमा लुकाइ राखेको अवस्थामा मृतक चौधरीले प्रयोग गर्ने सामसुङ कम्पनीको मोबाइल र घटनामा प्रयोग गरिएको चक्कु बरामद गरेको छ । घटना भएको दिन मृतक चौधरी मेलास्थलमा सुतेका थिए ।
हत्यापछि राई धनकुटा–१ कुवापनीको पेट्रोलपम्प छेउबाट रातको समयमा सङ्खुवासभाबाट आएको मालवाहक ट्रकमा चढेर फरार भएका थिए । राई र प्रियाबीच ३ वर्षअघि सप्तरीको कङ्कालिनी माईको मन्दिरमा जाँदा चिनजान भएको बताइएको छ । उनीहरूबीच नियमित शारीरिक सम्पर्क हुन थालेपछि दुवै जनाले चौधरीको हत्या गर्ने योजना बनाएको खुलेको हो ।
चौधरीलाई हत्या गर्न कार्तिक १६ गते राती हिलेमा घट्ना हुनु भन्दा ५ महिना पहिले नै सप्तरीको मेलामा योजना वनाएका थिए तर सविनले सप्तरीमा नसक्ने र सप्तरीको मेला सकिएपछि हिलेमा लाग्ने मेलामा जसरी भएपनि हत्या गर्ने भन्ने उनीहरुको योजना रहेको पनि खुलेको छ ।