लहान/ सिरहा प्रहरीले जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरी बिहीबार सिरहा जिल्ला अदालतमा पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी नवराजपुर गाउँपालिका ३ मझौराका २१ वर्षिय रामसेवक यादव र ज्यान मार्ने उद्योगका १९ वर्षिय पंकज सदायलाई पक्राउ गरी अदालतमा पेश गरिुएको हो ।

दुबै फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले खोजतलाशको क्रममा पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रहरीले सवारी साधन चेकजाँचको क्रममा बिहीबार सिरहा नगरपालिका १ माडर सडक खण्डबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हा बस्ने २० वर्षिय राजु मुखिया र १९ वर्षिय अक्षय मुखियालाई लागूऔषधसहित पक्राउ गएिको हो ।

पैदल हिंडिरहेका दुबै जनालाई शङ्का लागेर शरीर खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध नाइट्राभेट ४० ट्याब्लेट बरामद भएपछि पक्राउ गरिएका दुबैलाई बिहीबार सिरहा जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।