मेचीनगर/ नागरिकताको सिफारिस बनाउँदा सेवाग्राहीसँग रकम मागेको आरोपमा मेचीनगर नगरपालिका–२ का वडा सचिव सुरेश घिमिरे पक्राउ परेका छन् ।

वडाबासी पूर्णबहादुर तामाङकी श्रीमती सञ्जलीको नागरिकता बनाउने क्रममा कागजी प्रक्रियाका लागि भन्दै शुक्रबार कार्यालयमा बोलाई सिफारिसका लागि ९ हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

बिहीबार नागरिकता बनाउन पुगेका उनको फाइल वडाध्यक्षबाट काम सम्पन्न गरेर वडा सचिवमा पुग्यो । तामाङको गाँउको सर्जमिन, प्रहरी र आमाको अभिलेख लिनका लागि रामेछाप जिल्ला पुग्नुपर्ने देखिएपछि त्यो आफूले मिलाइदिने भन्दै वडासचिव घिमिरेले पूर्णबहादुरसँग १० हजार रूपैयाँ मागेका थिए ।

कार्यालय बन्द भएपछि सचिव घिमिरेले तामाङलाई फोन गरेर शुक्रबार बिहान भेट्नका लागि आग्रह गरे ।

सोही अनुरूप शुक्रबार बिहान ८ बजे वडा कार्यालयमा पैसा लिएर पुगेका तामाङले आफूसँग ९ हजार रुपैयाँ मात्रै भयो भनेर भन्दा भैगो भन्दै पैसा लिएको पीडित तामाङले बताए ।

तामाङका अनुसार यसअघि पनि विवाह दर्तामा सचिव घिमिरेले एक हजार रुपैयाँ लिएका थिए । तामाङले वडा सचिव घिमिरेलाई पैसा दिएको कुरा उनका छिमेकीले थाहा पाएपछि मात्र घटना सार्वजनिक भएको थियो ।

यस विषयमा कुरा बाहिरिएपछि सचिव घिमिरे वडाध्यक्ष तिलक न्यौपानेलाई भेट्का लागि आइतबार बिहान पुगेका थिए । वडाध्यक्ष न्यौपाने सेवाग्राही तामाङको घरमा पुगेर घुस लिएको विषयमा बाहिर नल्याउनका लागी आग्रह गरेका थिए ।

घटनाबारे सार्वजनिक भएपछि स्थानीयले आइतबार बिहानैदेखि वडा कार्यालय घेराउ गर्दै भ्रष्ट कर्मचारीलाई कारबाहीको माग गरेका थिए । प्रहरीले नियन्त्रणमा लिनुअघि वडासचिव घिमिरेले आफुमाथि मिथ्या आरोप लगाएको दाबी गरेका थिए ।

उनले आफूले सेवाग्राहीलाई सेवाभावले काम गरेको बताए । घिमिरेमाथि कारवाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय काँकडभिट्टा र मेचीनगर नगरपालिकामा निवेदन दिँदै कारबाहीको माग गरेका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा कार्यालयमा पुगेर सचिव घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । धुलाबारी घर भएका वडा सचिव घिमिरे पैसा लिनकै लागि कार्यालय समयभन्दा २ घण्टा अगाडि नै कार्यालय पुगेका थिए ।

स्थानीय सेवाग्राहीले नगरपालिका मेयर बिमल आचार्यसामु सचिव घिमिरेलाई कडा कारवाहीको माग गरेका थिए । सचिव घिमिरेलाई प्रहरी टोलीले पक्राउ गरी मेचीनगर नगरपालिका बुझाइएको ईलाका प्रहरी कार्यालय काकँडभिट्टाका डिएसपी महेश थापाले जानकारी दिए ।

मेचीनगर नगरपालिकाका मेयर आचार्यले नगरपालिकाले वडा सचिव घिमिरेको विषयमा थप अनुसन्धान गर्दै प्रमाणित भएमा निलम्बनसमेत गरिने बताए ।

यता वचाउका लागि सेवाग्राहीको घरमै पुगेका वडाध्यक्ष न्यौपानेले पनि पैसा लिएको प्रमाणित भए कानूनअनुसार कारबाही हुने बताए ।