मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालीकामा निर्माणधीन वडा कार्यालयहरूमा कमसल सामग्री प्रयोग गरिएको आक्षेप लागेपछि स्थलगत निरीक्षण गरिएको छ ।
गाउँपालिकाको गतवर्ष विनियोजित बजेटबाट निर्माणाधिन वडा कार्यालयहरूको बुधबार गाउँपालिकाका प्रमुख देवीप्रसाद आचार्यसहितको टोलीले निरीक्षण गरेको हो । त्यसक्रममा उपाध्यक्ष सरला राई, इञ्जिनियर सुवाष आचार्यलगायतको उपस्थितिमा निरीक्षण गरिएको थियो ।
मिक्लाजुुङको २, ४, ५ र ८ नम्बर वडा कार्यालय निर्माणमा तीव्रता दिइएको छ । हाल २ नम्बर वडाबाहेक अन्य वडाका कार्यालयहरू निर्माणको चरणमा छन् । ४ नम्बर वडाको मापदण्डभन्दा कमसल सामग्री प्रयोग गरेको गुनासोको आधारमा प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
टोलीले ४ नम्बर वडा कार्यालयको सामान्य सुधार गर्नुपर्ने देखिएको मिक्लाजुङ गाउँपालिकाका इञ्जिनियर सुवास आचार्यले जानकारी दिए । टोलीले अन्य सुधार गर्नुपर्ने पक्षहरूलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ ।
४ नम्बर वडा निर्माणको जिम्मा आहाना कन्ट्रक्सन काठमाडौंले प्राप्त गरेको छ । ५ नम्बर वडामा पनि केही सुधार गर्नुपर्ने देखिएकाले उक्त वडा कार्यालय निर्माण कम्पनीलाई पनि सुधारका लागि निर्देशन दिइएको इञ्जिनियर आचार्यले जानकारी दिए ।
५ नम्बर वडा निर्माणको जिम्मा हिमतार निमार्ण प्रालि इटहरी सुनसरीले प्राप्त गरेको थियो । सुधार गर्नुपर्ने पक्षहरू सुधार भएनभएको पुनः निरीक्षण गरिने इञ्जिनियर आचार्यले जानकारी दिए ।
निरीक्षणको क्रममा गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले निर्माण कार्यको गुणस्तरमा कुनै पनि त्रुटि हुन नदिनका लागि इञ्जिनियर र ठेकेदारलाई निर्देशन दिएका छन् । गाउँपालिकाले तोकेको मापदण्ड पूरा नगरे त्यस्ता योजनाहरूलाई भत्काएर पुनः बनाउन लगाउने गाउँपालिका अध्यक्ष आचार्यले बताए ।
































