विजयपुर । प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप–२०८३ को उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब भिडन्त गर्दैछन् ।
धरान १६ स्थित रङ्गशालामा शनिबार (आज) प्रतियोगिताको फाइनल खेलमा दुई बलिया विभागीय टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । बिहीबार धरान–१६ स्थित रंगशालामा सम्पन्न अन्तिम सेमिफाइनलमा नेपाल पुलिस क्लबले सेरेनिटी फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । एकपक्षीय बनेको खेलमा पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको थियो ।
यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेको थियो । यससँगै प्रतियोगिताको उपाधिका लागि नेपाली फुटबलका दुई विभागीय टोलीबीच प्रतिस्पर्धा निश्चित भएको हो । प्रतियोगितामा दुवै टोलीले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । एपीएफले भारतको झारखण्डस्थित एक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो भने नेपाल पुलिसले झापाको काँकडभिट्टा महिला फुटबल क्लबलाई ८–० गोलको फराकिलो अन्तरले हराएको थियो । राष्ट्रिय खेलाडीहरूको सहभागिताले फाइनल खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर प्राप्त गर्नेछिन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
धरानमा पहिलो पटक रात्रिकालीन महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो । डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा भारतको एक टोलीसहित आठ टोलीको सहभागिता थियो ।

































