चक्रघट्टी/ वराहक्षेत्रस्थित नेपाल आदिवासी जनजाति महासङ्घको नगर अधिवेशन आगामी पुस २७ गते हुने भएको छ ।

वराहक्षेत्र–७ स्थित साकेलाथान चक्रघट्टीमा बिहान १० बजेदेखि अधिवेशन हुने संयोजक चित्रबहादुर नाछिरिङले जानकारी दिए । वराहक्षेत्र नगरमा रहेका ११ एकल जातीय सङ्गठनहरूको उपस्थितिमा अधिवेशन हुनेछ । वराहक्षेत्रमा रहेका १२ आदिवासी जनजातिमध्ये शेर्पा भने नगर महासङ्घमा समावेश भएको छैन ।

अधिवेशनले नगरमा स्थानीय आदिवासी जनजातिको भाषा, धर्म, लिपिको संरक्षण गर्न नीति निर्माण गर्ने साथै नगरका बहुसङ्ख्यक आदिवासी जनजातिको भाषा विद्यालयस्तरबाटै अध्ययनका लागि पाठ्यक्रम निर्माण गरी ऐच्छिक रूपमा पठनपाठनका लागि व्यवस्था गर्न नीति निर्माण गर्ने संयोजक नाछिरिङले बताए ।

‘आदिवासी जनजातिका चाडपर्वमा स्थानीय तहले विदा दिनुपर्ने हाम्रो माग छ,’ संयोजक नाछिरिङले भने,‘आदिवासी जनजातिको सांस्कृतिक उत्थानका लागि नगरले समानुपातिक बजेट विनियोजन समेत गर्नुपर्छ ।’

वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले शिक्षक र पाठ्यक्रम महासङ्घले उपलब्ध गराए नगरले आदिवासी जनजातिको मागअनुसार ऐच्छिक विषय पठनपाठन गराउने वातावरण तयार गर्ने बताएका छन् ।

वराहक्षेत्रमा सबैभन्दा बढी राई जातिको जनसङ्ख्या (झण्डै ११ हजार) रहेको छ । त्यसपछि क्रमशः थारु, मगर, माझी, नेवार, लिम्बू (६२० घर), तामाङ, उराव, भुजेल, सुनुवार, गुरुङ र शेर्पा छन् ।
जातीय सङ्गठनहरूले अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम गरिरहेको किरात राई यायोक्खाका नगर अध्यक्ष सञ्जय राईले जानकारी दिए ।

उनले १ जना प्रतिनिधि र १ जना पर्यवेक्षक चयन गर्ने काम भइरहेको बताए ।