इटहरी/ सिकाइँका पुराना सिद्धान्त, मान्यता र शैली अब बदलिँदै गएका छन् । प्रविधिको विकासले सूचनामा पहुँच बढेको छ । सूचना पाउने माध्यमहरू फेरिएका छन् भने संसारसँगको सम्पर्क सहज बन्दै गएको छ । यसले ज्ञानको क्षेत्रलाई पनि फराकिलो बनाएको छ ।
यहीबीचमा पुराना प्रविधिलाई नेपाल पत्रकार महासङ्घ सुनसरीले प्रदर्शन गरेको छ । पुरानो टाइपराइटरमा कुनै दिन यसरीनै रातभर खट–खट आवाज निकालेर कविता टाइप गरेको सम्झिदै इटहरीका पुराना पत्रकार कृष्ण अधिकारीले भने सञ्चारसँगै जमाना निकै बद्लिएको छ ।
त्यतिबेला अक्षर टाइप गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उपकरण अहिले सङ्ग्राहलयमा थन्किएको छ । ‘समय परिवर्तन भएसँगै पुराना सामाग्रीहरू पनि बद्लिएका छन्’–उनले भने ।
महासङ्घ सुनसरी शाखाले ११ औं वार्षिक साधारणसभाको अवसरमा आयोजित फोटो प्रदर्शनीका क्रममा विगतका उपकरण पनि प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनी नियाल्न सञ्चारकर्मीसँगै स्कुले बालबालिकासमेत सहभागी थिए ।
प्रदर्शनीमा प्रविधिको दौडमा हराइ सकेका टीभी, मोबाइल, ल्यापटप, क्यामेरा, भिडियो क्यामेरालगायतका उपकरणहरु राखिएको थियो । ‘यो प्रविधि नहुँदो हो त अहिलेको विकसित उपकरण पनि कसरी आउँथ्यो र ?’ अग्रज प्रत्रकार कृष्णविनोद लम्सालले भने, ‘यो नै अहिलेको विकसित प्रविधि हो ।
हामीले प्रयोग गरेको पुरानो प्रविधि हराई सकेँ, लोप हुँदैछन् ।’ पुराना प्रविधिको उपकरणसँगै सुनसरीका सञ्चारकर्मीले सिर्जना गरेको कथा, कविता, उपन्यास, यात्रा संस्मरणलगायतको कृति समेत प्रदर्शनीमा राखिएको थियो । पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले सूचना प्रविधिको तीव्र विकाससँगै पुराना सामाग्रीहरू लोप हुने अवस्थामा रहेको बताए ।
नयाँ पुस्तालाई पुराना पुस्ताले प्रयोग गरेको सामाग्री देखाउँनका लागि पनि प्रदर्शनी गरिएको उनले बताए । कार्यक्रममा प्रदेश १ का प्रमुख डाक्टर गोविन्द सुब्बाले सञ्चार प्रविधिले फड्को मार्दै गएको बताए ।































