बिर्तामोड/अर्जुनधारा नगरपालिकाले नगर प्रवेश गर्ने मुख्य सडकमा प्रवेशद्वार निर्माण गर्ने भएको छ । बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सिमानामा रहेको सडकमा ३५ लाख रुपैयाँको बजेटमा नगरपालिकाले प्रवेशद्वार निर्माण गर्न लागेको हो ।
महानन्द चोकमा निर्माण हुने प्रवेशद्वारसँगै अर्जुनधारा जलेश्वर धाम र कार्यालय परिसरमा ऐतिहासिक अर्जुनधाराको झल्को दिने संरचना पनि निर्माण गर्न लागेको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।
संरचना निर्माणका लागि बजेट विनियोजनसमेत गरी सकिएको उनले बताए । ‘अर्जुनधारा नगरको पहिचानसँग जोडिएको संरचना निर्माण गरिनेछ, नगरप्रमुख रानाले भने– ‘स्वागतद्वारमा अर्जुनले वाण हानेको, आदिकवि भानुभक्त आचार्य, मोतिराम भट्ट र महानन्द सापकोटाको शालिक पनि प्रवेशद्वारसँगै रहनेछ ।’ प्रवेशद्वारको डिजाइन बनिसकेको उनले जानकारी दिए ।
नगर कार्यपालिकाको निर्णय भएबमोजिम शनिश्चरे बजारमा रथमा चढेका भगवान् श्रीकृष्ण र अर्जुनको शालिक निर्माण गरिने छ । यसैगरी लोप हुन लागेको बयलगाडामा मानिस बसेको शालिक निर्माण गरिने कामलाई तीव्रता साथ नगरपालिकाले अगाडि बढाएको जनाएको छ ।
नगरपालिकाको स्वीकृत वार्षिक बजेट अनुसार महानन्द चोकमा स्वागतद्वार र फाइबरका ६ वटा शालिक निर्माणका लागि ३५ लाख र अर्जुनधारा–८ स्थित शनिश्चरे बजार, अर्जुनधारा जलेश्वर धाममा शालिक मूर्ति स्थापनासहित नगरपालिकाको कार्यालय परिसरमा जग्गादाताको शालिक निर्माणका लागि ३१ लाख रुपैयाँ गरी ६६ लाख रुपैयाँ लागत बराबरको कार्यक्रम संचालन हुने प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले बताए ।
प्रमुख रानाले भने– ‘नेपाली भाषालाई चौतर्फी आक्रमण हुँदा भानुभक्तले अनुवाद गरेको भाषागत एकतामा सुत्रबद्ध गरेको कारण शालिक निर्माण काम हुनेछ । स्थानीय क्षेत्रमा साहित्यमा महत्वपूर्ण योगदान दिएका हुनाले महानन्द सापकोटाको शालिक निर्माणको काम अगाडि बढाएका हौं ।’
सरकारले शनिश्चरे रोडलाई १ सय ४० फिट चौडाई भएको बनाउने योजना बनाएको छ । अहिलेको आवश्यकता अनुसार ८० फिट सडक कायम गरेर लैजाने योजना रहेको उनले बताए । सडकको ट्रयाक निर्माणको काम स्रोतले भ्याएसम्म नगरपालिकाले गर्ने र नसकिने काम प्रदेश र सङ्घीय सरकारले यथासक्य सहयोग गर्ने अपेक्षा नगरपालिकाको रहेको उनले बताए ।
महानन्द चोक, शनिश्चरे बजार हुँदै वडा–८ र ९ को सिमानासम्म सडकको मापदण्ड कायम गरी चिह्न लगाउने काम सम्पन्नसमेत भएको नगरपालिका अमिन चिरञ्जीवि खवासले बताए ।
































