धरान/ चार किरात संस्थाले उधौलीमा विदा दिन माग गरेको छ । सरकारले मङ्सिरे पूर्णिमा (उधौली) लगायतका बिदा कटौती गरेको भन्दै प्रदेश १ मा तीन दिन सार्वजनिक बिदा दिन माग गरेको हो ।
धरानस्थित इलाका प्रशासन कार्यालयमार्फत् प्रदेश १ का मुख्यमन्त्री तथा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

उधौलीलाई राष्ट्रिय चाडको रूपमा बिदा दिन माग गरेको हो । किरात राई यायोक्खा सुनसरी, किरात याक्थुङ चुम्लुङ सुनसरी, किरात याक्खा छुम्मा सुनसरी र सुनुवार सेवा समाज सुनसरीले मङ्गलबार संयुक्तरूपमा प्रशासनका प्रमुख जयराम श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।

विगत १६ वर्षदेखि सरकारले राष्ट्रिय चाडको रूपमा चित्रण गर्दै बिदा दिने गरेको थियो । तर, गतवर्षदेखि पुनः बिदा कटौती गरेपछि चार किरात समुदायले असन्तुष्ट व्यक्त गर्दै आएका छन् । किरायाका अध्यक्ष बलराम राईले सरकारले विदालाई कटौती गरेकाले प्रदेश सरकारले सार्वजनिक विदा दिनु पर्ने बताए ।

गत वर्ष २०७४ चैत १४ गते प्रकाशित राजपत्रको बुँदा नं २ को उपबुँदा २ मा संशोधन गरेर उधौलीमा ३ दिन सार्वजनिक विदा दिन माग गरेको हो ।  ज्ञायन पत्र बुझाउनका लागि यायोक्खाका अध्यक्ष बलराम राई, चुम्लुङका कार्यवाहक अध्यक्ष स्वर्णिमहाङ फोम्बो, याक्खा छुम्मका अध्यक्ष रेवत याक्खा, सुनुवार समाजका अध्यक्ष हेमन सुनुवारको उपस्थिति थियो ।