यासोक/ पाँचथरको कुम्मायक–५ का ८६ वर्षीय देवीबहादुर बोहोरालाई आफूले टेकेको जमिन मुनिबाट पानी निस्केला भन्ने विश्वास थिएन ।
पानी ओरालो मात्रै बग्छ भन्ने उनलाई थाहा थियो । खानेपानीको हाहाकार भएको अवस्थामा घरछेउमै जमिन मुनिबाट पानी निस्किएर खोलोझैं बग्दा उनी दङ्ग परे । ‘खानेपानीको समस्याले बसाइ सर्नुपर्ने होकि भन्ने लागेको थियो, तर अहिले पानीको खोलो बग्दा अब दुःखका दिन गएजस्तो लागेको छ ।’ हर्षित मुद्रामा उनले भने ।
छोटो समयमा पानी निस्किएको भन्दै कुम्मायक केन्द्र यासोक बजारमा हर्ष र उल्लाहसको वातावरण देखिन्थ्यो । कोही एकआपसका खुशीहरू बाँडिरहेका देखिन्थे भने केही आफन्तजन र साथीभाइलाई खबर दिँदै थिए ।
कोही भिडियो र फोटो खिच्नैमा व्यस्त देखिन्थे । पाँचथरको सुख्खाग्रस्त कुम्मायक गाउँपालिकामा मङ्गलबार देखिएको दृश्य हो यो । निर्माण कम्पनीले पानी परीक्षण गर्दै गर्दा छेउमै अर्को दृश्य पनि रोचक थियो । परिक्षण गरेको पानी जम्मा गर्न स्थानीयले २ वटा प्लाष्टिक पोखरी तयार गर्दै थिए ।
पोखरीमा जम्मा गरेको पानीले पशुचौपायालाई खुवाउन काम लाग्ने भन्दै उनीहरूले एकै छिनमा पोखरी तयार गरे । पानी खेर जान नदिनका लागि कुम्मायकवासीले यस्तो उपाय अपनाएका हुन् ।
प्रदेश सरकारको १ करोड लगानीमा उपभोक्ता समितिमार्फत् पाथीभरा डीप बोरिङ एण्ड कन्सट्रक्सन प्रालि सुनसरीले ४ दिनपछि डीप बोरिङमार्फत् पानी निकालेको हो । जमिनको सतह भन्दा २ सय ४० मिटर गइराहीमा पुगेपछि पानी निकाल्न सफल भएको डीप बोरिङ सञ्चालक कृष्णप्रसाद दुलालले बताए ।
‘जमिनमुनिबाट निस्कने पानी प्रतिसेकेन्ड ५ लिटरका दरले निस्कन्छ । केही दिनपछि मात्रै पानी खान योग्य हुन्छ,’ दुलाल भन्छन्– ‘बाँकी रहेको स्थानमा पनि केही दिनमै पानी निकाल्ने गरी काम भइरहेको छ ।’
गत शनिबारदेखि गरिएको डीप बोरिङबाट मङ्गलबारमात्रै पानी निकाल्न सफल भएको हो । जमिनमुनिबाट पानी निस्किएपछि स्थानीयवासी हर्षित भएका छन् । लामोसमयदेखि खानेपानीको समस्याले कष्टकर जीवन बिताउँदै आएका कुम्मायकवासीलाई केही राहत हुने गाउँपालिकाले जनाएको छ ।
यसअघि स्थानीय खोलाको पानी नागरिकलाई वितरण गर्दै आएको गाउँपालिकाले राहतको महसुस गरेको छ । खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई कसरी पानी वितरण गर्ने भन्ने विषयमा ध्यान केन्द्रित भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।
































