ताप्लेजुङ / पहिलो पटक जिल्ला अदालत ताप्लेजुङले कारागारका कैदी बन्दीहरुसँग न्यायिक संवाद गरेको छ । कैदीहरुसँग भेटघाट र संवाद गर्न प्रहरी प्रमुख सञ्जयसिंह थापा र श्रेस्तेदार केदारप्रसाद गौतमसहित जिल्ला न्यायाधीश कृपासुर कार्की मंगलबार कारागार पुगेका हुन् । अदालतको बार्षिक कार्यक्रम अन्तर्गत कारागार पुगेका न्यायाधिश कार्कीले कैदी बन्दीहरुसँग २ घण्टा समय बिताएका थिए ।
‘ताप्लेजुङमा न्यायाधिशले कैदी बन्दीहरुसँग कारागारमै भेटेर संवाद गरेको यो पहिलो पटक हो,’ श्रेस्तेदार गौतमले भने, ‘न्यायाधिशले मुद्दाको दर्तादेखि फैसलासम्मको प्रक्रियाको बारेमा जानकारी गराउनुभयो ।’ न्यायाधिश कार्कीका अनुसार सर्वोच्च र उच्च अदालतले कारागारको निरिक्षण गर्ने नियमित कार्यक्रम नै भए पनि जिल्ला तहमा त्यो चलन खासै छैन । ‘फैसला गर्ने व्यक्ति नै कारागारमा जाँदा जोखिम हुने अनुमान गरिन्छ,’ न्यायाधिश कार्कीले भने, ‘यहाँ मसँग भेट हुँदा उहाँहरु खुसी हुनुभयो ।’ न्यायाधीशसँग कैदी बन्दीहरुले न्यायिक प्रक्रिया, कानुनी जटिलता लगायतका विषयमा जिज्ञासा राखेका थिए । कैदी बन्दीलाई भदौ १ गतेदेखि लागु भएको नयाँ देवानी संहिताकोबारेमा समेत जानकारी गराएको कार्कीले जानकारी दिए ।