वराहक्षेत्र/वराहक्षेत्र नरगपालिकाको चतराधाममा महिला मैत्री नेपालले आयोजना गरेको कार्यक्रममा हिंसा पीडित महिलाहरूले न्याय मागेका छन् ।

नगरपालिका उपप्रमुख ,वडाका अध्यक्ष र महिला समाजिक कार्यकर्ताबीच भएको अन्तरक्रियामा उनीहरूले आफ्नो पीडा सुनाउँदा उनीहरू नै स्तब्ध बने । वराहक्षेत्र–२ की मिना राईले श्रीमानबाट यातना पाउने गरेको दुखेसाे गरिन् । उनले यातनासँगै ज्यानसमेत मार्ने प्रयास भएको बताइन् । त्यही आरोपमा प्रहरीले पक्राउ गरी उनको श्रीमानलाई पुर्पक्षका लागि थुनामा छन् । 

उनी माइतीको साहारामा अहिले जीवन गुजारिरहेको बताइन् । उनीजस्तै कवित राउत पनि श्रीमानबाट पीडित छिन् । ‘प्रहरी काहाँ गइस् भने तलाई मारी दिन्छु भनेर भन्छ । घरमा बाँच्ने स्थिति छैन् ।’ आँशु खसाल्दै उनी भन्छिन् । घरेलु शारिरीक तथा मानसिक हिंसाबाट चन्द्रकला दाहाल पनि पीडित छिन् । श्रीमानले दोस्रो श्रीमती भित्र्याएका छन् ।

उनीमाथि हरेक दिन शारीरिक तथा मानसिक यातना दिने गरेको उनी बताउँछिन् । सानी छोरी लिएर आफन्तको शरणमा रहेको बताइन् । महिला हिंसाका यी उदाहरणहरू प्रसस्तै छन् । उनीहरूले न्याय माग गरिरहेका छन् । यस्तै पीडाबाट पार्वती श्रेष्ठ पनि गुज्रिएको वर्षौ भइसक्यो । विवाह दर्ता नहुँदा छोरीको जन्मदर्ता, नागरिकता बन्न सकेको छैन् । यस्तो पीडा वराहक्षेत्र नपाका उपप्रमुख कमला मगर, वडा १ र २ का अध्यक्ष, सदस्यहरू क्रमशः हरिकृष्ण भट्टराई, शुसिला शेर्पा, सुमित्रा घिमिरे र धनकुमारी गहतराजलगायत प्रहरीहरूले उनीहरूको पीडा सुने ।

अन्तरक्रियाका आयोजक महिला मैत्रीकी अध्यक्ष र कार्यक्रम सञ्चालक दिलु गमजेरले, न्याय पाउँने आशमा रहेका घरेलु हिंसा पीडित महिलाहरूको कस्तो कानूनी उपचार दिन सकिन्छ ? अहिले त स्थानीय सरकारसमेत रहेको अवस्था छ भनेर प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका न्यायिक समितिको संयोजक र उपप्रमुख कमला मगरलाई प्रश्न गरिन् ।

उपप्रमुख कमला मगरले महिला हिंसाविरुद्धको कानून राज्यले त बनाउँछ तर त्यसको समुचित कार्यन्वयन नभएको भन्दै राज्य महिलाको हक अधिकारको ग्यारेन्टी गरिनुपर्ने धारणा व्यक्त गरिन् । त्यस्तो कुनै पिडा छ भने ढुक्क भएर आउनुहोस नपाले सहयोग गर्ने बताइन् । उद्योग वाणिज्य संघ वराहक्षेत्रका अध्यक्ष रमेशकुमार विष्टले यस्ता महिलालाई सिलाइ कटाइ, बुटिक, ब्युटिसियनजस्ता टूेनिङ्ग ल्याइने बताए ।