इटहरी । सुनसरीको दुहबी नगरपालिका–९ स्थित छाताबेलीमा अज्ञात समूहले गोली हानी एकको हत्या भएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले जय बाबा इँटा उद्योग अगाडि स्थानीय फिदा हुसेनको हत्या पछि दुहबी तनावग्रस्त भएको छ ।

हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मेहेदी हुसेनका भाइ हुन् । उनी बिहान मर्निङ वाक गरिरहेको अवस्थामा बिहान ६ ः३० को समयमा गोली प्रहार भएको थियो । हत्यापछि जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरीसँग स्थानीयको वार्ता असफल भएको छ ।

वार्तामा स्थानीयवासीसँगै सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र प्रहरी प्रमुख एसपी राजन अधिकारीसँगको वार्ता असफल भएको वार्ता टोलीको सदस्य ओम थापाले बताए । उनले भने– ‘हामीले २४ घण्टा भित्र हत्यारा पत्ता लागाउनु पर्ने, गृहमन्त्री घटना स्थल आउनु पर्ने माग राखेको तर सुनसरी प्रशासनले माग पूरा गर्ने सक्दैनौं भनेपछि हामी लास लिएर दुहबी बजार आउँदैछौ ।’

गोली प्रहारपछि दुहबी बजार स्थानीयले बन्द गरेका छन् भने यातायात समेत पूर्ण रुपमा ठप्प बनाइएको छ । विराटनगर जाने सवारी इटहरीबाटै ट्राफिकले विराटचौट हुँदै पठाएको छ । यता, हत्याको विरोधमा स्थानीयले दुहबी बजारमा नाराबाजी शुरु गरेका छन् ।

छाताबेलीबाट दुहबी आएका मृतकका आफन्त तथा स्थानीयले बजार पसल बन्द गराउनुका साथै सवारी आवागमनमा अवरोध गरेका छन् । उनीहरूले टायर बालेर नाराबाजी गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले गोली कसले चलायो भन्ने अहिले सम्म पत्ता नलागेको बताए । गोली प्रहार गर्नेको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । यस अघि प्रहरीले हत्या अनुसन्धानका लागि भन्दै इँटा उद्योगमा कार्यरत कामदारलाई नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ ।

- तस्बिर प्रेम गिरीकाे फेसबुकबाट