इटहरी / सुनसरीको दुहबीमा इट्टा उद्योगमा कार्यरत व्यवस्थापकमाथि गोली प्रहार भएको छ ।

दुहबी–९ छातावेलीको जयबाबा इट्टा उद्योग अगाडि मर्निङवाकमा हिडिरहेका बेला उद्योगका व्यवस्थापक ५४ वर्षीय फिदा हुसेनमाथि गोली प्रहार भएको हो । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको छ । उनमाथि बुधबार बिहान ६ः३० बजेको समयमा अज्ञात समूहले गोली प्रहार गरेको हो । गोली प्रहार गर्ने समूहको खोजी कार्य शुरू गरिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

दुई महिनाअघि मात्रै सुनसरीको भुटाहाका खुर्सिद आलम अन्सारीको भारतीय ‘सार्प सुटर’ ले दिनदहाडै गोली हानी हत्या गरेका थिए । उक्त हत्यामा संलग्नहरू हालसम्म पक्राउ पर्न सकेका छैनन् । एमालेका स्थानीय नेतासमेत रहेका आलमको घटनास्थलमै मृत्यु भएको थियो ।

पछिल्लो समय सुनसरीमा साना हतियारसहित आपराधिक गतिविधिमा संलग्नहरू पक्राउ परिरहेका छन् । यहीबीचमा दुहवीमा भएको गोली प्रहारले थप सुरक्षा चुनौती बढेको छ । प्रहरीले पछिल्लो एक सातामा भारतीय नागरिकसहित ३ थान कटुवा पेस्तोल बरामद गरेको थियो ।