धेरैलाई इतिहास भनेको त राजा महाराजा र सत्ता शक्तिको रक्तरंजित कथाहरुमात्र हुन् भन्ने लाग्न सक्छ । किनकि अहिलेसम्म जे जति राष्ट्रहरुले आफ्नो राष्टूको वा विश्वपरिवेशको इतिहास भनेर लेख्ने गरेका छन् ति मात्र राजनैतिक सत्ताको खेल र त्यसको सीमानाहरुमा हुने गरेको खिचलोहरु मात्रै उल्लेख गरिएको पाइन्छ ।

जुन इतिहास होइन । जित्नेहरुको कथा मात्र हो । एउटा समाज, एउटा राष्टूको सन्तुलित अंगहरु त्यहाँ भित्रको आर्थिक (औद्योगिक र व्यापारिक),साँस्कृतिक, शेक्षिक (वैचारिक), राजनैतिक, धार्मिक, कानूनी आदि समुन्नत परिचालन हुँदा स्थिर उन्नति र कुनै एक विधाले मात्र प्राथमिकता पाई सो मात्र उन्नत हुनु भनेको कुनै पनि बेला धारासायी हुने अपाङ्ग झुठो प्रगति हो ।

अहिलेसम्मको इतिहास लेखन पनि राजनैतिक पक्ष वा शक्तिको त्यसमा पनि जित्नेहरुको प्रसस्तिमात्र उल्लेख गरिएकोमा, त्यसै राजनैतिक शक्तिका आरोह अवरोहको इतिहासमा आलंकारिक फुर्का फुर्की भएर आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, भाषा, न्याय, निसाफ, ललितकला आदिको इतिहास भेटिन्छ । यही प्रचलनले गर्दा अहिले हामीले सामान्य तरिकाले प्रयोग गरिरहेका सबै विषयका आ-आफ्नै इतिहास रहेको हुन्छ भन्ने सुन्दा आश्चर्यलाग्नु अस्वभाविक होइन ।

सामाजिक परिवेशमा अपनाईएका धर्म, सँस्कृति, शिक्षा, स्वास्थ्य, आर्थिक पक्षहरुको इतिहासहरुले वर्तमानलाई अनि इतिहास र वर्तमानले भविष्यलाई निर्धारण गरिरहेकै हुन्छ ।

ललितकलाले उडान, आर्थिक शारीरिक सवलताले बल, राजनीतिले उच्चता, शिक्षाले वैचारिकता अनि धर्म र कानूनले धैर्यता, नैतिकतायुक्त सन्तुलित समाज बनाउने हुँदा हरेक विषयको इतिहास बुझ्न सके त्यसको वर्तमानलाई स्वीकार्न र भविष्य निर्धारण गर्न सकिने हुन्छ । यसै शिलशिलामा नेपाली ऐन कानुनको इतिहासलाई एकनजर लगायौं भने वर्तमानको नेपाली कानून किन यस्तो भएछ/रहेछ भन्ने हामीलाई बोध हुनेछ ।

अतः संक्षिप्त रुपमा नेपाली कानूनको ऐतिहासिक झलकहरु हेरौं ।

नेपाली कानूनको इतिहास भन्ने बित्तिकै “निञाँ हराए गोर्खा जानु, शास्त्र हराए काँशी जानु” भन्ने लोकोक्ति जोडेर गोर्खाका राजा राम शाहको न्याय प्रणालीको उल्लेख गरिने गरिन्छ । नेपाली कानूनको इतिहासको उद्गम राम शाहको न्याय प्रणाली मात्र होइन, त्यो त शाह वंशीय राजाहरुको अति स्तुतिमा थपिएको एउटा भजन मात्र हो ।

समय, काल परिस्थिति अनुसार हरेक राज्यको कार्यव्यापारमा नाप जोख लेन देन झैं झगडा, न्याय निसाफ हुने नै गर्दथे र त्यसमा राजाको अहं भूमिका हुने गथ्र्यो त्यसमाथि विवेकी राजाको शासन प्रणाली विशेष प्रकारको हुन्थ्यो, त्यति नै हुन् रामशाह, त्यसभन्दा अघि मल्ल काल, लिच्छवीकाल र किरात कालको लिखित इतिहास बोकेको नेपाली इतिहासमा न्याय निसाफको इतिहास पनि त्यही बेला थालनी भएको कुरा मान्न सकिन्छ ।

लिच्छवीकालिन शिलालेखहरुमा पर्न गएका किरात भाषी शब्दहरु कुर्पासी, शङ्गा, चङ्गु, तेङ्खु, खोप्रिङ्ग, तिलमक, कुथेर, शुल्ल, मापचोक, लिङ्गल, पीटल्जा आदिले किरात काल, लामो समयसम्म थियो र उनीहरु ‘मुन्धुम’ अनुसार माटो, पानी, आगो समाउन/ख्वाउन लगाएर निया निसाफ गर्थे भन्न सकिन्छ ।

लिच्छवी कालको न्याय व्यवस्था बारे इतिहासकार डा.पेशल दाहालको नेपालको इतिहास पेज ६८ अनुसार निम्नानुसारको व्यवस्था थियो ।

“ग्रामपाञ्चालीको निर्णय चित्त नबुझेमा वा पाञ्चाली स्वयम्ले निर्णय दिन नसकेमा सिधै राजाको दरबारमा उजुर गर्न पाइन्थ्यो । सो मुद्दा प्रतिहारले पहिले दर्ता गरी परमाशन (दरबारको इजलास)मा राजा समक्ष जाहेर गर्दथ्यो । दर्ता भएको १ महिनासम्म राम्रोसँग अध्ययन गरी प्राचीन धर्मशास्त्र अनुसार न्याय दिने गर्दथे ।

त्यसबेलाको जघन्य पञ्च अपराधभित्र चोरी गर्नु, ज्यान मार्नु, जारी गर्नु, राजद्रोह र यी अपराधमा साथ दिनु पर्दथ्यो र कडा सजाय गरिन्थ्यो । परिवारको एक सदस्यले अपराध गरे पुरै परिवारलाई सजाय दिइन्थ्यो । दण्ड गर्दा अपराधीको प्रकृति प्रथमपटक भए वाग्दण्ड (हप्काउनु), दोस्रो पटक भए धिग्दण्ड (बेइज्जत गर्नु) र तेस्रो पटकलाई धनदण्ड (जरिवाना) र चौथोपटक भए वध (मृत्यु) दण्ड दिइन्थ्यो ।”

मल्लकालको न्याय व्यवस्थाले भने झण्डै झण्डै आधुनिक न्याय प्रणालीको बाटो समातेको देखिन्छ । न्यायको पहिलो निकाय ग्रामपञ्चायतका पञ्चहरुले निर्णय गर्दथे । सो फैसला चित्त नबुझे अदालतद्वारा निर्णय, फैसला गराइन्थ्यो । सोबाट पनि उचित न्याय नपाए विशेष अदालतद्वारा फैसला गरिन्थ्यो ।

मल्लकालमा आएर अपराधिको बयान गराउँदा र न्यायाधिशले फैसला गर्दा सपथ खाएर गरिने÷गराउने प्रचलन चल्यो ।

साना अपराधहरुमा आर्थिक दण्ड र ठूला अपराधहरुमा मृत्युदण्ड दिइथ्यो । यसै समयका प्रतापी राजा जयस्थिति मल्लले वि.सं. १४४० तिर अनेक साहित्यिक पुस्तकहरुसँगै गोपाल राजवंशावली र मानव न्याय व्यवस्था पुस्तक लेखे/लेख्न लगाए ।

शाह वंशीय शासन व्यवस्थाको स्थापना कालको न्याय व्यवस्था बारे बुझ्न पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ बुझ्नै पर्ने हुन्छ जसमा “घुस लिने र दिने यी दुईको ज्यान लिए पनि खतबाट लाग्दैन । यी दुवै रैती र दरबारका सत्तुर हुन्” भनिएको छ ।

यसरी नै शाहकालको विभिन्न समयका कानूनी तपसिल, सवाल, बन्दोबस्त नामको व्यवस्थाको दृष्टान्तहरु हेरौं :
संवत् १८६३ सालको रणबहादुर शाहको कानूनी बन्दोबस्त “आगे सुवा माधौशाही, श्रीनाथ पन्त... (१५जना) श्री कृष्ण पंथके कनका-टिष्टा पश्चिम महाकाली पूर्व येति राज्यभरमा राहा (नियम) न्या पारी कसैको मोहम्बत पछि नलागी घूस पेस्की नषाई हाम्रा निमकको सोझो चिताइ गर्ना कागजको सवाल गरिबक्स्यौं सवाल बमोजिमको जाँच गर, एति राज्यभित्रका छोटा बडा मानिसहरुले तिमीहरुको नालिस चुगली कसैले विंति गर्न आया एकोहोरा कुरा सुनेनौं दोहोरो कुरा सुनी जसको तकसिर (अपराध) ठहर्ला त्यसलाई तकसिर माफिक तम्विह (सजाय) गरौला आफ्ना खातिर जम्मासित जाँच गर (तपसिलका दफा १ देखि ४० सम्म रहेकामा केही नमुना तल दिएको छ)
१. सवाल ६० साल फागुनदेखि बढो कसैले कसैछेउ घुस षायाको भया कायल मुकाल गरी घूसको तेवर डंड गर्नु ।
४. सवाल विनाषत बिना हाम्रा मार्जीले प्रजापुत्र मास्न्यालाई डंड गर्नु मसियाकालाई छोडाई दिनु ।
१३. सावल देउताको पुजा देउताको गहना खजाना मास्न्यालाई कायल मुकाएल गरी षायाको फिर्ता गरी डंड गर्नु ।
१५. सवाल कसलाई कुसुल्या, धोबी कुलुका छोरीलाई स्वास्नीतुल्याउन्या पानीचल्याउन्यालाई कायल सुकाएल गरी डंड गर्नु
२०. सवाल ६० सालदेषि बढो भाँङ चरस षान्या, जुवा षेलन्यालाई काएल गरी जात जीय अनुसार डंड गर्नु
३५. सवाल ब्राम्हण छत्रीले जाँड षायाको भया जात बाहिर गरी सर्वस्व गर्नु ई दुई वर्णबाहिक अरु जाँड खान्या तागाधारीलाई भारी दण्ड गरी जात काट्नु । इतिसंवत १८६३ साल मिति वैशाष ३ रोज १ शुभम्
संवत १८७९ सालको उजिरसिह (भीमसेन थापाका भाई माइला नैनसिह थापाको जेठा छोरा) थापाको जंगी तथा निजामति स्थिति बन्देजका जम्मा ५ बन्देज (परिच्छेद) मा ११९ दफाहरुको व्यवस्था गरिएको छ ।
पहिलो बन्देजको ११ को कुनैपनि प्रशासकले जंगी मुलुकी तथा अदालत तीनै तर्फ बिचार पुर्याइ काम गर्नुपर्छ ।

जंगीतर्फ मात्र ध्यान दिनू सेनाले रैतीलाई फिरोल्छ । रैतीतर्फमात्र हेर्यो भने अदालत बलियो हुँदैन ।

अदाललते आम्दानी मात्र हेर्यो भने दुनियाँले इन्साफ पाउँदैन । सिपाही शूरा, अदालत बलियो र रैयत सुखी रहेमा मात्र मुलुक गुल्जार हुने हुनाले यी तिनैमा समन्वय राखिनुपर्छ ।  दोश्रो बन्देजको १५ को लड्ने लडाउनेको हुकुम एउटालाई छ, शासकको हुकुम अर्कालाई छ भनेपनि आँटयाको काम हुँदैन ।

तेस्रो वन्देजको १७ को पल्टनमा काम गर्ने सबै कामदारहरु पगरी, हुद्दा, सिपाही, लस्कर, कमाण्डिङ्ग अफिसर र फलांस, चिरुवादार, दरोगा, मुन्सी, डिट्ठा, विचारी, जोशी पुरोहित, वैठके, चपरासी, धोवी, हलकारा, डोले सबैले आफूलाई ठेकेको काम गर्नु पर्छ काम नगरी बालीमात्र खाने उपाय गर्छ भने दण्डको मागी बन्नेछ ।

चौथो बन्दजको १५ को आइमाइले अपराध गरेको छ भने पनि हप्काइ दप्काइ कारकेर गरी तहकिकात गर्नु । कारकेरको सिलसिलामा निर्वस्त्र नगर्नु । निर्वस्त्र गरी कारकेर गर्नु आइमाइको निम्ति मरण सरह हो । पाँचो यथार्थ हो बन्देजको २६ को छुन पनि नहुने कामी, सार्की, दमाई, भाँड, गैरह जातका सधवा, विधवा, कन्या जस्तो सुकै भएपनि उभोजातले विरायाछ, भातपानीमा बोरेछ भने जात अनुसार जीउ मारिदिनू

संवत १८८३ सालको श्री ५ राजेन्द्रको न्यायिक वन्दोबस्त प्रथमदेखि यगारौं सवालसम्म आठौं सवाल सर्वस्व हुन्या नाता सानिमा प¥याका पताहार स्वास्नी पाचुकी गन्र्र्या झगरा आयो भन्या आफ्ना मानिस साथलाई इटाचपली डिठ्ठा आर्जवेगी छेउ पुर्याइ दिनु ।

एघारौं सवाल येस काजमा चाहिन्या मानिस बिचारी २, वहिदार २, तहविल्दार २, टहलुवा १, ज्या जवान ७, के षांगी वर्ष १ को रुपैया १३२४ ताहीका आमदानीमा ली तपसिल बमोजिम षानु विचारी जना २ के ७ सय वहिदार २ के २८८, तहविल्दार जना २ के ३०० टहलुवा १ के ३६

इति संवत १८८३ साल फागुन सुदी ७ रोज ५ शुभम् संवत १८६३ साल मिति अषाढ सुदी ७ रोज ४ को साक्षात भाउजूको करणी गर्नेलाई सजाय गर्ने थिति बन्देज श्री मन्महाराजाधिराज कस्य रुक्का..... आगे हाम्रा मुलुकका चार वर्ण ३६ जात गैह्र प्रति विवाहिता साषात भाउज्यूसँग विराउ गर्न यो कुरा ठूलो पाप रहेछ आजसम्म जो जति भयो सो भै गयो जंगला मुलुक हुनाले जातको तजविज गर्नु पर्दा हाल किराती, लिंबु, लाप्च्या र जुम्लीहरु बाहेक राषी आजदेखि उप्रान्त जानी जानी कसैले भाउज्यू विराउ नगर्नु भन्या थिति बन्देज वाधि बक्स्यौ

(उपाध्याय ब्राह्मणहरुले जाना जानी भाउजु विराउ गर्यो भन्या जात पतीत गरी मुडी देश निकाला गर्नु
(गोतिया भाइ क्षत्रीय (शाह राणा कंवर) जातहरुले जाना जानी भाउज्यू बिराउ गर्या भन्या जात पतित गरी देश निकाला गर्नु
(अरु क्षत्रीय रजपुत, सन्यासी, बस, वैस्य, मगर, गुश्र, घले जातहरुले जाना जानी भाउज्यू विराउ गर्या लिंग काट्नु
(नेवार, सुद्र, दमाइ, सुनार, कामी, सार्की, गाथिइन, हुक्र्या, बलामी, माझी, दनुवार, मूर्मी, भोट्या, चेपाङ, पगरी, बरै, कुहुमाल, बरानु आदिले विराउ गर्यो भन्या सर्वस्व गरी मारीदिनु ।

इतिसम्बत १८९३ साल मिति अषाढ ७ रोज शुभम्
उपरोक्त प्रकारको नेपाली कानूनी इतिहासको रुपरेखा चलि आउँदै गरेकोमा वि.सं.१९०३ असोज ३ गते जङ्गबहादुर राणाद्वारा कोतपर्व गरी नेपालको शासन सत्ता हातमा लिए पछि केही व्यवस्थित गरेको पाइन्छ । जंगबहादुर राणाले १९०७ मा बेलायत यात्रा गर्दा फ्रान्सको कानूनी व्यवस्था नेपोलिन कोडबारे जानकारी पाए । त्यसैको सिको गरी वि.सं. १९१० पौष सुदि ७ रोज ५ मा ‘मुलुकी ऐन १९१०’ लागू गरियो ।

अहिलेसम्म भेटिएको नेपालको र व्यवस्थित लिखित मुलुकी ऐन य ही नै हो । (जयस्थिति मल्लको मानव न्यायशास्त्र भेटिएको छैन)
आगे हाम्रा भरमुलुक र सदर मोफसलमा रहन्या भारदार, कामदार, गौडा गौडा अदालत ठाना, कौसि, कुमारिचौक, धर्माधिकरा, मुलुकीषाना, सदर दफतर, कंपूपल्टन र कंपनिका दफतर गैह्र कचहरि कचहरिमा रहन्या हामिक कामदार अमालीद्वार्या इजारादार ठेकदार सर्वाक माथि जग्गाका गुठियार विर्तदार, मठधारी संतमहंत मुषिया जिम्मावाल चौधरि थरि महत, मीझार्या रैयत् गैह्र प्रात आजसम्म मरमामिला गर्दा एकै विहोरामा कसैलाई कमि कसैलाई बढता सजाय हुन जान्या हुँदा तसर्थ अब उप्रान्त छोटा बडा प्रजा प्राणि सबैलाई षत जति माफिक एकै सजाय हवस घटी बढी नपरोस भन्ना निमित्त.... “अ‍ैन तयार.... अ‍ैनमा लेषिया बमोजिम काज-काम निसाफ गर्नु”
उपरोक्त मुलुकी ऐन १९१० देखि छोटा बडा सबैलाई एक कानून भन्ने लेखिन थाले पनि हामी तपाईं सबैलाई थाहा भएकै कुरा हो, ती ऐन कानूनले एउटै अपराधमा सर्वसाधारणलाई जात अनुसार फरक फरक डंड दिने प्रचलन (गंगालाल धर्मभक्तलाई गोली ठोक्नु, टंकप्रसाद आचार्यलाई स्वतन्त्र छोड्नु) थियो, अझ राणा, राजा र उनीहरुका आफन्त र चाकरहरुलाई ऐनले छुदैनथ्यो/लाग्दैनथ्यो ।

यहि भएरै ठूलालाई चैन सानालाई ऐन, नेपालको कानून दैवले जानून् भन्ने लोकोक्ति चलेको हो ।

मनग्गे प्रशंसा गरिएको नयाँ मुलुकी ऐन २०७४ सम्म आइपुग्दा पनि राज्य शक्तिका उच्च पदस्त नेताहरु, कर्मचारीहरु, व्यापारीहरु, सेना प्रहरी आदिलाई व्यवहारिक रुपमा कानून नलागेको तितोसत्य र आम जनसमुदायहरु मात्र कानूनद्वारा दण्डित हुने हुँदा प्रहरी, प्रशासन, अदालत र कानूनी प्रति विश्वास खस्केको हो ।

यसो हुनमा आजका कानून पालना गराउने कारिन्दाहरु, कानून निर्माण कर्ताहरु, हामी अन्याय सहनेहरु सबैले ती ऐतिहासिक कानूनँको अन्यायी परम्पराहरुको बिरासत थामेकैले त हो । तर अब उप्रान्त सबैलाई एक कानून गराउन तपाईं हामी सबै जाग्नै पर्ने हुन्छ ।