गिरिराज आचार्यद्वारा लिखित निरजा आचार्यद्वारा प्रकाशित ७५ जना महान दाताहरूको आर्थिक सहयोगमा २०६५ साल पौषमा १००१ प्रति हारती माँ अफसेट प्रेस धरानबाट मुद्रित वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति प्रकाशित भएको केही वर्ष वितेको छ । यो पुस्तक ३८२ पृष्ठमा मोटो आकारमा छ । आवरण पृष्ठमा वीपी कोइरालाको भाषण गर्दै गरेको फोटो छ । पछाडी अन्तिम आवरणमा प्रकाशकबाट लेखकको फोटोसहितको परिचय पनि छ ।

मूल्य ने.रु. ५०० राखिएको छ । झट्ट हेर्दा पुस्तकको मूल्य रु. ५०० हामीजस्ता साधारण पाठकहरूका लागि महङ्गो पर्ने भए पनि यस पुस्तकमा लेखकको श्रम, लगनशीलता, अध्ययन सामग्रीहरूको संकलन दुर्लभ फोटोहरू, विषयवस्तुहरूको छनौट, सरल प्रस्तुती र ऐतिहासिक महत्ववको दृष्टिबाट यो पुस्तकको मूल्य महङ्गो लाग्दैन । शोधपत्र तयार गर्ने, विद्यावारिधी गर्ने, राजनीतिमा चाख राख्ने पुस्तकालय, अनुसन्धान केन्द्रहरूका लागि अत्यन्तै मूल्यवान उपयोगी, पठनिय र संग्रहनिय छ । यो पुस्तक २०४२ सालमा प्रकाशित जनमत संग्रह दर्पण संग्रहजस्तो इतिहास हो यो पुस्तक । त्यसो त वहाँको यो पुस्तक समेत १८ वटा प्रकाशित छन् ।

त्यसमा यो समेत ५ वटा ऐतिहासिक, १ जेल डायरी, १ कविता संग्रह, एउटा कथा, दुईवटा उपन्यास, ३ वटा लेख संग्रह, विगत २७ वर्षदेखि पूर्वटाइम्स साप्ताहिक र चान्द्रमसी मासिकको सम्पादन गर्दै आउनु भएको गिरिराज आचार्य स्थापित साहित्यकार र अनुभवी पत्रकार हुनुहुन्छ । प्रायः गुप्तवासमा रही लेखन अध्ययन, संकलन र कृति प्रकाशनमा लागि रहने गिरिराज आचार्यको यो पुस्तक वीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीतिको ऐतिहासिक दर्पण हो ।

नेपाली कांग्रेसको २०१७ सालदेखि २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनको दस्तावेज हो । गिरिराज सिद्धहस्त लेखन, संकलन र परिपक्क अनुभवद्वारा खारिएको मस्तिष्कबाट देखिएको यो पुस्तक लेखकको चस्मदिप गवाह हो भनौ आँखा देखे हाल हो । नेपाली राजनीतिमा चाख राख्ने बुद्धिजिवी विद्यार्थी तथा पाठक र नेपाली कांग्रेसका लागि नै यो पुस्तक आधिकारिक छ । अन्यत्र भौतारिरहनु पर्दैन । वीपी कोइरालाको व्यक्तित्व, नेतृत्व र राष्ट्रिय मेलमिलापको नीति बुझ्न यो पुस्तक मनग्गै छ ।

मैले गिरिराज आचार्यको २०४२ सालमा प्रकाशित जनमत संग्रह दर्पण पढेको थिएँ । यसै क्रममा धरानका बामपन्थी बुद्धिजिवी स्व. लक्ष्मीप्रसाद हलवाईद्वारा लिखित वीपी कोइरालाको आत्मवृत्तान्त पढेपछि भन्ने २०६० सालमा प्रकाशित पूर्वाग्रहपूर्ण र भ्रमपूर्ण पुस्तक पढेपछि एक्सन टाइम्स वर्ष ३, अंक ९, पूर्णाङ्क १०७ भदौ १ (०६०) देखि अङ्क १०, पूर्णाङ्क १०८, अङ्क ११ पूर्णाङ्क १०९, अङ्क १२, पूर्णाङ्क ११० (०६०) सम्म ४ अङ्क धारावाहिक खण्डन छपाएको थिएँ ।

वीपी कोइरालाबारे स्व. हलवाईको गलत धारणा र नेपालको राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रतिको प्रतिवद्धता एवं योगदानबारे मेरो त्यो प्रकाशित लेखले स्थानिय कामरेडहरूको मथिङ्गलमा चक्कर लागेको स्मरण हुन्छ । गिरिराज आचार्यको वीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति पढेपछि मेरो त्यो लेखले पुष्टि पाएको मैले अनुभव गरेको छु । मैले गिरिराज आचार्यको परिचय “गिरिराज आचार्य र प्रपन्नाचार्य चतुर्भुज पुरस्कार” भनी तपाईको अखबार साप्ताहिक वर्ष १ अङ्क २ (०५८) मा लेख छपाएको छु त्यो भन्दा बढी म लेखकको परिचय दिन मनाशिव ठान्दिन ।

गिरिराज आचार्यले पूर्वटाइम्स साप्ताहिक वर्ष २७, अङ्क ८ भाद्र २६ (०६६) देखि क्रमशः ‘बद्री बलिखेलाई सम्झँदा’ स्मरण लेख्न थाल्नुभएको छ त्यसमा अङ्क ८ र ९ बारे गिरिराज र मेरो सम्बन्धको पनि चर्चा छ । २०४६ सालको जनआन्दोलनमा हामी सँगै छौं । त्यसपछि हामी दुई एउटै विचारपथमा छौं । हाम्रो त्यसबेलाको वैचारिक धार अलग भएपनि राष्ट्रियता, प्रजातन्त्र, साहित्यकारहरूको स्वाभिमानको रक्षा सम्बन्धमा हामी एउटै मोर्चामा भएको घटनाहरू स्मरण गराउन चाहन्छु ।

गिरिराज आचार्य स्रोत व्यक्तित्व हुनुहुन्छ, अध्ययनशील हुनुहुन्छ । वहाँ एउटा सिङ्गो पुस्तकालय नै हुनुहुन्छ । नेपाली कांग्रेस र वीपी कोइरालाबारे बु¤न अन्यत्र भौतारिनु पर्दैन, वीपी कोईराला र राष्ट्रिय मेलमिलापको नीति बु¤न यो पुस्तक काफी छ । मलाई के भन्न मन लाग्छ भने इतिहास छोप्नु हुन्न । पूर्वाग्रह राख्नु हुन्न । इतिहास सत्य र तथ्य घटनाहरूको दस्तावेज हो । राजनीति क्षेत्रमा साहित्यिक गतिविधिमा कहिले अगाडी कहिले पछाडी हुन्छ ।

कहिले सँगै हुन्छौं त कहिले अलग हुन्छौं तर प्रजातन्त्र र राष्ट्रियताको मिलनविन्दुमा एउटै मोर्चामा हुन्छौं । गिरिराज आचार्यलाई भेटमा मैले यो तीतोसत्य पोख्दा वहाँ गम्भिर हुनुभएको थियो । एउटा हितैषी मित्र गम्भिर हुँदा मेरो मन पनि अमिलो भएको थियो तर पूर्वटाइम्समा “बद्री पलिखेलाई सम्झँदा” क्रमशः सस्मरणले मप्रतिको वहाँको धारणा स्पष्ट हुँदै आएको छ र त्यो लेखले साबुनपानीको काम गरेको मैले महशुस गरेको छु । गिरिराज आचार्यद्वारा लिखित ऐतिहासिक मूल्यवान पुस्तक “वीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति” वीपीको व्यक्तित्व र राष्ट्रिय मेलमिलाप नीतिको सेरोफेरोमा केन्द्रित छ । यो पुस्तकमा लेखकको भनाइ मननीय छ । डा. बद्रीनारायण गौतमको दुईशब्द मूल्यवान छ ।

प्रकाशकिय निरजा आचार्यको भनाई मार्मिक लाग्छ । दुई भागमा विभाजित यस पुस्तकमा २०३३ साल पुष १६ गते वीपी र गणेशमान लगायत अन्य सयौं ने.का. कार्यकर्ताहरूको मेलमिलाप नीति लिएर स्वदेश आगमनको कारणहरूमा भारत निर्वासनताका नेपाली कांग्रेसको स्थिति अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, राष्ट्रिय संकटको प्रसङ्गहरू अन्तर्राष्ट्रिय समाजवादी र भारतीय समाजवादी नेताहरूको वीपीको रिहाई र प्रजातन्त्रप्रतिको समर्थनहरू पञ्चहरूको भ्रमपूर्ण प्रचार नेपालका राष्ट्रवादी कम्युनिष्टहरूको भूमिकाबारे गिरिराजले सरल र रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ । यो पुस्तक नेपाली कांग्रेसप्रतिको भ्रम चिर्ने अमोध अस्त्र हो । नेपाली कांग्रेसका लागि सुरक्षाकवच हो ।

नेपाली कांग्रेसका कार्यकर्ताहरूका लागि सञ्जिवनी हुनसक्छ । गिरिराज आचार्य नेपाली कांग्रेसको पुरानो कार्यकर्ता हुनुहुन्छ । चिन्तक र बौद्धिक बुद्धिजिवी हुनुहुन्छ । नेपाली कांग्रेसको आन्दोलनको योद्धा हुनुहुन्छ । स्वयम् नेपाली कांग्रेसको आन्दोलनको साक्षी हुनुहुन्छ । अतः वहाँद्वारा लिखित यो पुस्तक पढ्दा नेपाली कांग्रेसको डकुमेन्ट्री हेरिरहेको जस्तो भनौ टि.भी. हेरिरहेको जस्तो अनुभूत हुन्छ । ज्यादै रोचक र कौतुहलपूर्ण लेखन शैली र प्रस्तुती भएको हुँदा यो पुस्तक पढ्दा नसिद्याई छोड्न मन लाग्दैन ।

यस पुस्तकको पहिलो भागमा दिइएका ११ वटा प्रसङ्गहरू र दोश्रो भागमा दिइएका प्रसङ्गहरूमा ५ नं. को वीपी र सत्यजीत रे...., ७ मा वीपी र गणेशमान, ८ मा वीपी र विलीब्रान्ट, १० मा वीपी र जयप्रकाश नारायण, ११ मा वीपी र फणीश्वरनाथ रेणु, १२ मा वीपी र भोला चटर्जी ज्यादै रोचक लाग्छ । २०३०/०३२ सालमा म र महेश दाई हाम्रो मुमाको क्यान्सरको उपचार गर्न पटना जाँदा कदमकुवामा जयप्रकाश नारायणको निवासमा पुगेको थिएँ । त्यहाँ तराई कांग्रेसका नेता भद्रकाली मिश्रसँग भेट भएको थियो ।

पटनामा त्यहाँको बुद्धिजिवी डा. विनोदचट्टोपध्यायबाट वीपी र पटनामा नेपाली कांग्रेसको गतिविधिको प्रभाव, डा. तुलसी गिरिको चरित्र नेपालका लालबुझक्कडहरूको भूमिकाबारे स्व. जगदीश नेपालीसँग भएको कुराकानी सुनेको थिएँ । म आफु वाम विचारको भए पनि त्यो विरानो ठाउँ पटनामा वीपी र नेपाली कांग्रेसको राजनीतिबारे भारतीय बुद्धिजिवीहरूबाट सुनेको त्यो घतलाग्दो प्रसङ्गहरूबाट म प्रभावित भएको थिएँ । यस पुस्तकमा पटना, कदमकुवा, भद्रकाली मिश्रको चर्चाले म त्यतिबेला पटनामा गएको स्मरण गरायो । यस पुस्तकमा पहिलो भागको ११ वटा प्रसङ्गहरू मननीय, पठनीय, ग्रहणीय छ । दोस्रो भागको १२ वटा प्रसङ्ग रमाइलो, रोचक र कौतुहलपूर्ण लाग्यो ।

गिरिराज आचार्यको अनुभवसिद्ध, सिद्धहस्त र लगनशिल हातबाट लेखिएको यो पुस्तक पढ्दा नेपाली कांग्रेसमा हाल विद्यमान वर्तमानकालका मान्छेहरूमा देखा परेका दुईखाले प्रवृत्ति झाङ्गिएको छ । नेपाली कांग्रेसमा एउटा यस्तो मान्छेहरू छन् जो सुविधाभोगी, अवसरवादी र नेतामुखी कार्यकर्ता र दोश्रो इमान्दार, निष्ठावान र पार्टीप्रति समर्पित मूल्य र मान्यताका लागि आजसम्म सतिसाल झै अडिग कार्यकर्ताहरू पनि छन् । गिरिराज आचार्य नेपाली कांग्रेसको दोश्रो दर्जामा पर्नुहुन्छ । वहाँलाई म घरिघरी भन्ने गर्थें, गिरिराजजी तपाई धरानको सिके प्रसाई हुनुहुन्छ । बधाई छ पुस्तकको लोकप्रियता र सफलताको लागि शुभकामना । २०६६/०६/३०, धरान