काठमाण्डौ/ अभिनेता प्रदीप खड्काले करीब ४ वर्ष अगाडि नेपाली फिल्ममा भविष्य नदेखेर अष्ट्रेलिया जानका लागि लगेजमा कपडा समेत प्याक गरिसकेका थिए । आफ्नै कम्पनी 'प्रदीप मिडिया'बाट उनले 'स्केप' र 'ठूलो मान्छे' नामक फिल्म बनाएका थिए, 'स्केप' मा उनकै अभिनय थियो । जुन बक्सअफिसमा पत्तासाफ भयो । दुई फिल्ममा लाखौं पैसा डुबेपछि उनमा न निर्माता न त हिरो बन्ने भुत नै बाँकी रह्यो । अष्ट्रेलियाको अन्तिम तयारीमा रहँदै गर्दा उनलाई फिल्म 'प्रेमगीत' बाट अफर आयो । यो २०७२ सालको कुरा हो । दोधारै दोधारका बीच उनले यो फिल्म गर्ने निर्णय लिए । 'प्रेमगीत' पनि फ्लप भए घरबाट अष्ट्रेलिया जानै पर्ने उनीमाथी चर्को दवाव थियो । फिल्म गरिरहँदा उनले निर्देशक सुदर्शन थापालाई आफू अष्ट्रेलिया जान लागेको दुखेसो पोखिरहन्थे । निर्देशक थापाले हौसला दिँदै उनलाई फिल्म हिट हुने आश्वासन दिन छाडेनन् । २०७२ साल माघ २९ गते फिल्म 'प्रेमगीत' रिलिज भयो । फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सकेन तर प्रदीप 'स्टार' बने । उनको अभिनय र लुक्सको सर्वाधिक चर्चा भयो । यसपछि उनले करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । अहिले हातमा फिल्मको ताँती मात्र होइन उनी नेपालका महँगा अभिनेता समेत हुन् । तर, प्रदीपले 'प्रेमगीत' रिलिजपछि निर्देशक थापा र अभिनेत्री पूजा शर्मासँग सम्बन्ध सुमधुर बनाइराख्न सकेनन् । 'प्रेमगीत' टिम दुई टुक्रा हुँदा प्रदीपले निर्माता सन्तोष सेनको हात समाते भने सुदर्शनले पूजा छाडेनन् । करीब ३ वर्षसम्म प्रदीपसँग सुदर्शन र पूजाको बोलचाल ठप्प भयो । गएको चैतमा प्रदीप आफू अभिनीत फिल्म 'लिलिबिली' को प्रचारमा दौडिरहेका थिए । सोहीक्रममा पुतलीसडकमा रहेको स्टार हलमा पूजासँग उनको एक्कासी जम्काभेट भयो । वर्षौदेखि मनमा बढेर बसेको एकअर्का प्रतिको दुश्मनी भुल्दै दुवैले अंकमाल गरे र भविष्यमा सँगै काम गर्ने वाचा मिडियासमक्ष गरे । गएको शनिवारबाट अभिनेता खड्का र निर्देशक सुदर्शन थापा बीचको सम्बन्ध पनि सुध्रिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुग्दा दुवै एकअर्काको आमने-सामने भए । वर्षौदेखि एकअर्काको नाम सुन्दा समेत झर्को मान्ने प्रदीप र सुदर्शनले देखेर पनि नदेखेझैँ गरेनन् । दुवैले सहजै हात मिलाए र अंकमाल गरे ।