
रोल्पा/ बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अभियानकर्ताले नै विवाहस्थलबाटै पक्राउ गरी कानून कार्यान्वयनका लागि प्रहरीलाई सहयोगसमेत गरेका छन् ।
बुधबार रोल्पा नगरपालिका–२ ह्वालीमा बालविवाह गरिरहेको एक जोडीलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरी कानूनी उपचारसमेत थालनी गरेको छ । रोल्पा नगरपालिका– २ का १७ वर्षीय राजकुमार खड्काले सोही नगरपालिका–१ हरिगातिनाकी १७ वर्षीया किशोरीसँग बालविवाह गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् ।
स्थानीय बालविवाह न्यूनीकरण सञ्जालले उमेर नपुग्दै विवाह नगर्न पटकपटक सम्झाउँदासमेत नमानेपछि प्रहरीमा उजुरी गरिएको थियो । बालविवाह हुन थालेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि अदालतसमक्ष पेश गरेका छौँ, प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले भने । मुलुकी ऐन बिहेवारी महलअन्तर्गत उनीहरुलाई कारबाही हुन्छ फुँयालले भने ।
बालविवाह गर्ने र गराउने दुवैलाई कानूनी कारबाही गर्ने व्यवस्था भएकाले दुलाहाकी आमा दिलसरी खड्कालाई समेत प्रहरी हिरासतमा राखिएको बताइएको छ ।
विवाह भोजमा संलग्नलाई पनि सोधपुछका लागि बोलाइने प्रहरी नायब उपरीक्षक फुँयालले बताए ।