नेपाली चलचित्रका निर्माताहरुले चलचित्र प्रचारका लागि विभिन्न उपाय अपनाइरहेका छन् । कहिले पिज्जा डेलिभर गर्दै फ्यानको घरमा पुग्ने त कहिले विभिन्न स्थानमा कन्सर्ट गर्ने । नयाँ-नयाँ उपायले चलचित्रको प्रचारमा फाइदा पनि मिलिरहेको छ ।

यसैक्रममा, चलचित्र ‘ह्याप्पी डेज’को यूनिटले चलचित्र प्रचारका लागि नयाँ शैली अपनाइएको छ । चलचित्र प्रचारका लागि ललितपुरको लखनखेलबाट ‘रथ यात्रा’ गरिएको छ । लखनखेलबाट सुरु भएको ‘रथ यात्रा’मा नायिका प्रियंका कार्की र नायक संजय गुप्ता सहभागी थिए । उनीहरुले, चलचित्रको नाम लेखिएको टिसर्ट लगाएका थिए । लखनखेलबाट सुरु भएको ‘रथ यात्रा’ भृकुटीमण्डपमा आएर समापन भएको थियो । उपस्थित पत्रकारहरुसँग कुरा गर्दै नायिका प्रियंका कार्कीले यो शैलीले चलचित्रलाई फाइदा पुग्ने बताइन् ।

उनले भनिन्-‘मेरा घोडासँग छुट्टै लगाव छ । चलचित्रको छायांकनको क्रममा पनि म घोडासँग गफ गर्थे ।’ उनले, प्रेमकथामा यो चलचित्र बनेको भन्दै अगाडि थपिन्-‘विदेशमा बस्ने नेपालीहरुको कथालाई यो चलचित्रले उठान गरेको छ ।’ निर्देशक मिलन चाम्सले यो प्रचारको शैलीले चलचित्रलाई फाइदा पुग्ने बताए । यस्तै, चलचित्रका नायक संजय गुप्ताले ‘ह्याप्पी डेज’ले सबैलाई खुशी बनाउने बताए ।

वैशाख १४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा नायक दयाहाङ राइको पनि मुख्य भूमिका छ । बेलायतका रमणिय लोकेशनमा यो चलचित्र खिचिएको छ । चलचित्रलाई वीपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सले निर्माण गरेका हुन् ।