काठमाडौं/ इन्धन बोक्ने ट्याङ्करभित्र लुकाएर राखिएको १६० किलो गाँजा बरामद भएपछि लागूऔषध गाँजा तस्करी नयाँ तरिका खुलासा भएको छ । 

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८७ नम्बरको ट्याङ्करभित्र क्याबिनमा १६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ७ वटा प्लाष्टिकको बोरामा प्याक गरेर गाँजा तस्करी गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का २६ वर्षीय इमानसिंह स्याङ्बो छन् । उनीहरुलाई काठमाडौंको चन्द्रगिरी–२, झ्याप्ले खोलास्थित सडक किनारबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख डिआईजी ठूले राईले जानकारी दिएका छन् ।

उनका अनुसार गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका दुई जना लोमो समयदेखि गाँजाको कारोबारमा संलग्न रहेको समेत खुलेको ब्यूराले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।