विजयपुर । कृषि विषयमा स्नातक अध्ययन गरेका धरान–१५ का युवा हिमाल  रसाइली मोरङको केराबारीमा सयपत्री फूल खेतीमा व्यस्त छन् ।

कलेजमा पुस्तक र कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै उनले तिहारलाई लक्षित गरेर दुई कठ्ठा जमिनमा सयपत्री फूल खेती गरेका छन् । कृषि अध्ययन गरे पनि त्यसको ज्ञानलाई व्यवहारमै प्रयोग नगरेसम्म उपलब्धिको अनुभूति नहुने ठानेर फूल खेती सुरु गरेको रसाइली बताउँछन् । तिहारमा सयपत्री फूलको माग बढ्ने भएकाले त्यसैलाई अवसरका रूपमा लिएर उनले खेती सुरु गरेका हुन् ।

करिब ५० हजार रुपैयाँ लगानी गरेर सुरु गरिएको उनको यो फूल खेती पहिलो प्रयास हो । लगानीअनुसार राम्रो आम्दानी हुने अपेक्षा राखेका उनले यस वर्षको उत्पादन र बिक्रीबाट खेतीको सम्भावना मूल्याङ्कन गर्ने योजना बनाएका छन् । पहिलो पटक भएकाले कति आम्दानी हुन्छ भन्ने यकिन नभए पनि लगानी खेर नजाने र घाटा नहुनेमा आफू विश्वस्त रहेको रसाइली बताउँछन् । यो वर्षको अनुभव र प्रतिफलले आगामी दिनमा फूल खेतीलाई कुन रूपमा अगाडि बढाउने भन्ने निर्णय गर्न सहज हुने उनको भनाइ छ ।

उनी उत्पादन गरेको सयपत्री फूल गुणस्तरीय रहेको बताउँछन् । बजारमा विदेशी फूलमाथिको निर्भरता घटाउन स्थानीय उत्पादनलाई उपभोक्ताले प्राथमिकता दिनुपर्ने उनको आग्रह छ । उनी भन्छन्, “स्वदेशमै उत्पादन भएको फूल गुणस्तरीय छ । उपभोक्ताले भारतीय फूलभन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ ।” आफूले उत्पादन गरेको फूल सुलभ मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने उनको योजना छ । स्थानीयस्तरमै उत्पादन भएको ताजा फूल प्रयोग गर्दा किसानलाई प्रोत्साहन मिल्नुका साथै स्वदेशी उत्पादनको बजारसमेत विस्तार हुने उनको विश्वास छ । 

यस वर्षको खेती सफल भए आगामी दिनमा व्यावसायिक रूपमै फूल खेतीलाई विस्तार गर्ने सोचमा रहेको उनको भनाइ छ । कृषि पढेर रोजगारीको खोजीमा मात्रै सीमित हुनुभन्दा आफूले सिकेको सीप र ज्ञानलाई माटोसँग जोड्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न खोजेका रसाइलीको प्रयासले युवालाई कृषितर्फ आकर्षित गर्ने सम्भावना देखिन्छ ।

तिहारजस्तो फूलको माग बढी हुने पर्वलाई लक्षित गरेर गरिएको उनको यो सानो प्रयासले स्वदेशी फूल उत्पादन र स्थानीय कृषि उद्यमशीलताको सम्भावनालाई समेत उजागर गरेको छ ।

full222

full1