धनकुटा/ स्थानिय, प्रदेश र संघको निर्वाचनमा सहभागी भै विभिन्न तहमा याक्खा समुदायबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई नेपाल आदिवासी याक्खा संघ केन्द्रिय समितिले विहिवार एक समारोहको विच धनकुटामा वधाई एवं सम्मान गरेको छ । पुर्व खानेपानी तथा सिचाँई राज्य मन्त्री दिपक खड्काको प्रमुख आतिथ्यमा वधाई ज्ञापन एवं सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा प्रदेश नं.१ अन्तर्गत स्थानिय, प्रदेश एवं संघको निर्वाचनमा याक्खा समुदायबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
सो अवसरमा धनकुटावाट प्रतिनिधिसभामा समानुपातिक तर्फवाट निर्वाचित सांसद आरसी तुम्वा, धर्मदेवी नगरपालिका संखुवासभाका प्रमुख रमेश कुमार लिम्वुखिम, पाँचखाल नगरपािलकाबाट निर्वाचित उप प्रमुख भीमादेवी दुम्साहाङ्ग, धनकुटाको साँगुरीगढी गाउँपालिकावाट प्रमुख पदमा निर्वाचत कुमारजंङ्ग याखा लगायतलाई निर्वाचित भएकोमा वधाई ज्ञापन गर्दै आयोजक संस्थाको तर्फवाट खदा र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा वडाध्यक्षहरु ६ जना, वडा सदस्यहरु १६ जना गरी जम्मा २६ जना खाया समुदायवाट प्रदेश नं.१ मा निर्वाचित भै पदभार सम्हाली सकेका जनप्रतिनिधिहरु एक भव्य समारोहको विच सम्मान एवं वधाई ज्ञापन गरिएको थियो । सो अवसरमा वोल्ने अधिकांश वक्ताहरुले याक्खा समुदायको भाषा, संस्कार, संस्कृतिलाई वचाई राख्न आ–आफ्नो तर्फवाट सक्दो सहयोग गर्न सम्मानित जनप्रतिनिधिहरुलाई आग्रह गरिएको थियो । हरेक जातिको भाषा, संस्कार, संस्कृति वाँचे मात्र ती जातिको पहिचान र अस्तित्व रहने कुरामा जोड दिइएको थियो ।
नेपाल आदिवासी याक्खा संघका केन्द्रिय अध्यक्ष रामजी कोङ्गरेनको अध्यक्षतमा सम्पन्न वधाई एवं सम्मान कार्यक्रममा पुर्व मन्त्री दिपक खड्का, धर्मदेवी नगरपालिकाका प्रमुख रमेशकुमार लिम्वुखिम, पाँचखपन नगरपालिकाका उप–प्रमुख भिमादेवी दुम्साहाङ्ग, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, एमाले जिल्ला उपाध्यक्ष भिम लिंखा, महालक्ष्मी नगरपालिका वडा नं.७ का वडाध्यक्ष रुद्र तुम्वा, किराँत याक्खा छुम्मा धनकुटाका जिल्ला अध्यक्ष जिवराज याक्खा, फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा, नेपाल शेर्पा संघ संखुवासभाका सचिव छिरिङ्ग शेर्पा, चौविसे गाउँपालिका वडा नं.५ का वडाध्यक्ष पदम देवान, धर्मदेवी नपाका महिला वडा सदस्य भुमिका ताम्ली, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा वोल्ने वक्ताहरुले सिंहदरवारको अधिकार जनताको घर–घरमा र गाउँ गाउँमा त आयो, अधिकार आएसंगै सिंहदरवारको भ्रष्टचार पनिसंगै आएकाले भ्रष्टचार नियन्त्ररणमा लाग्न याक्खा समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए । एमालेका जिल्ला उपाध्यक्ष भिम लिंखाले किराँत याक्खा छुम्मा याक्खाहरुको मातृ संस्था हुँदा हुँदै याक्खा संघ स्थापना गरिएको रैछ यस्ले याक्खा समुदायमा भ्रम श्रृजना गर्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका थिए । सो अवसरमा उनले प्रदेश नं.१ मा याक्खाहरुको कुल जनसंख्या २४ हजार, ३ सय २६ रहेको र प्रतिसतका आधारले स्थानिय तहको निर्वाचनमा ०.०१ प्रतिसतले हुन आउने याक्खा समुदायवाट प्रतिनिधिसभाका सांसद १ जना, गाउँपालिका अध्यक्ष १, नगरपालिका प्रमुख १, उप–प्रमुअ १, ६ जना वडाध्यक्षहरु र १६ जना वडा सदस्य गरी जम्मा २६ जना जनप्रतिनिधिहरुले विजय प्राप्त गरेको भन्दै खुशि व्यक्त गरेका थिए ।
सम्मानित हुने जनप्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि दिपक खड्का, संस्थाका अध्यक्ष रामजी कोङ्गरेन, एमाले नेता भिम लिंखा, आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले लगायतले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन मनोज याक्खाले गरेका थिए ।
































