विराटनगर/ पटकपटक यौन सम्पर्क गरेपछि गर्भवती भएकी महिलालाई हत्या गर्न खोज्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको बराह नगरपालिका ७ का २३ वर्षीय अजय झाले स्थानीय ३० वर्षीय महिलालाई मोरङको बेलबारी नगरपालिका भाउन्नेको जंगलमा पुर्याएर हत्या प्रयास गरेको खुलेको हो । घटनामा संलग्न झालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेर शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
विराटनगर १३ कोशी प्रजेक्टको एरियामा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग, जवरजस्ती करणी र गर्भपतन मुद्धा चलाउन शुक्रबार नै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए ।
उनका अनुसार तत्काल पहिचान हुन नसकेकी गर्भवती महिलालाई प्रहरीले गत फागुन २६ गते जंगलमा बेहोस अवस्थामा फेला पारेको थियो । उनलाई त्यतिबेला बेलबारी प्रहरीले उपचारका लागि बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । उपचारका क्रममा ती महिलाको पेटमा सात महिनाको गर्भ रहेको खुलेको थियो । प्रहरीका अनुसार उपचाररत अवस्थामै फागुन ३० गते गर्भमै सात महिनाको बच्चाको भने मृत्यु भयो ।
‘हत्या गर्ने उदेश्यका साथमा ती महिलालाई जंगलमा लगेर बेहोस बनाएको पाइयो,’ बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले भने, ‘घाँटी र शरीरका विभिन्न भागमा चोटपटक र निलडाम रहेको अवस्थामा महिलालाई उद्धार गरेर उपचारका लागि पठाइयो ।’ उनले घाँटी थिचेर महिलाको हत्या गर्ने प्रयास भइरहेका बेला मानिसको चहलपहल थाहा पाएपछि घटनामा संलग्न त्यतिबेला फरार भएको जानकारी दिए ।
‘विहे गर्ने भनेर ललाईफकाई लामो समय सम्म यौन सम्पर्क गरेका कारण गर्भ रहन गयो,’ ती महिलालाई उद्रित गर्दै एसपी बिसीले भने, ‘गर्भ रहेको थाहा पाएपछि स्वीकार गर भन्दा झाले स्थानीय सन्तोश तामाङको सहयोगमा मोटरसाइकलमा राखेर भाउन्नेको जंगलमा पु¥याएर हत्याको प्रयास गरे ।’ बिसीका अनुसार अनुसन्धानका क्रममा झापाको दमकमा लगेर डेरा राख्छु भनेर ती महिलालाई मोटरसाइकलमा राखेर लगिएको र बीच बाटोकै जंगलमा पु¥याएपछि घाँटी थिच्दै हत्याको प्रयास गरिएको खुलेको छ ।
आर्थिक अवस्था कमजोर भएकी महिला अहिले पनि मानसिक रुपमा विक्षिप्त अवस्थामा छिन् ।