हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ एकाएक विरक्तिएका छन् । विरक्तिनुको कारणले हो, उनले हिजो फेसबुकमा पोष्ट गरेको स्टाटसमा निम्तिएको विवाद ।

उनले भारतीय अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको विषयमा उनले सो स्टाटस लेखेका थिए । सलमान नेपाल नआउँदैमा दुखी हुनु नपर्ने उनको टिप्पणी थियो । यसमा उनको पक्ष र विपक्षमा कैयन् प्रतिक्रिया आए । पोखरामा रामकहानी फिल्मको ‘होलनाइट’ सुटिङमा रहेका बेला उनको फोनको घन्टी ट्याङ ट्याङ बजिरह्यो । एउटा कलाकार कलाकार भएर अर्को देशको कलाकारप्रति नकारात्मक टिप्पणी गरेको भनेर धेरैले उनलाई पाठ पढाउन खोजे । थुप्रै कलाकारहरुले फोन गरेर ‘त्यस्तो नलेखेको भए हुन्थ्यो’ भन्ने अर्ति दिए । माग्नेबुढालाई दिक्क लाग्यो ।

‘मैले एउटा एउटा देशप्रेमी नागरिकको रुपमा सोझो मनले आफ्नो भावना व्यक्त गरेको थिएँ,’ उनले भने, ‘तर, जे जस्ता प्रतिक्रिया आए, त्यसले मैले गलत नै पो गरिछु कि भन्ने लाग्यो र माफी मागेँ । उनले अगाडि थपे, ‘आखिर देशप्रेमको ठेक्का मैले मात्रै त लिएको छैन नी । सबैका लागि सलमान नै ठूलो हो भने म किन छुच्चो बन्नु ?’

उनले पछिल्लो स्टाटसमा लेखेका छन्, ‘हतारमा गल्ति भएकै हो । एउटा थोक भन्न खोज्दा अर्कै थोक भयो । सलमान, आयोजक र सलमानका प्रशंसकसँग क्षमा चाहन्छु ।’ उनले थपेका छन्, ‘हेपाहा प्रवृत्ति नाजायज नै हो छिमेकी छिमेकी बीच बराबरीको सम्वन्ध हुनुपर्छ । मभन्दा हजुरहरु बुझ्ने हुनुहुन्छ ।

माग्ने बुढाको यो स्टाटसमा चाहिँ धेरैले ‘माफी माग्नु आवश्यक थिएन’ भन्ने प्रतिक्रिया दिएका छन् । ‘यसो गर्दा पनि सुख छैन, त्यसो गर्दा पनि सुख छैन, म के गरौं रु’ उनी गन्गनाए, ‘मेरो अरु केही कामधन्दा नभएको भए यसैमा लागिरहन्थेँ होला, तर अब चुप बस्नु नै ठिक होला भन्ने लागेको छ ।’