विराटनगर/ मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा हेभिवेट नेताले प्रतिनिधिसभामा प्रतिस्पर्धा गरिरहेको क्षेत्रको प्रदेशतर्फ रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली काँग्रेसले आफ्नो पकेट क्षेत्रको रुपमा दावी गर्दै आएको सो क्षेत्रमा प्रदेशसभाका उम्मेदवारहरुको व्यक्तित्वका कारण पनि रोचक प्रतिष्पर्धा हुने देखिएको हो । अन्य निर्वाचन क्षेत्रका उम्मेदवारमा प्रतिनिधिसभाका उम्मेदवारको बारेमा मात्र चर्चा भएपनि मोरङ ६ मा प्रदेशसभाका उम्मेदवारहरु निकै चर्चा छ । सो निर्वाचन क्षेत्र अन्तरगत बाम गठबन्धनतर्फबाट प्रदेश सभाको ‘क’ बाट जीवन आचार्य, ‘ख’ बाट रमेश पोखरेल चुनावी मैदानमा उत्रिएका छन् । काँग्रेसबाट प्रदेश तर्पको ‘क’ मा चुमनारायण तवदार र ‘ख’ मा केदार कार्की मैदान उत्रिएका छन् । यस क्षेत्रमा प्रदेशतर्फ पनि वाम गठवन्धन र काँग्रस बिचनै तिव्र प्रस्तिपर्धा हुने देखिएको छ ।
विशेष गरी थारु र क्षेत्री ब्राम्हण समुदायको अधिक वाहुल्यता रहेको छ यस क्षेत्रमा । प्रदेश सभाको ‘क’ मा बाम गठबन्धनका आचार्य र कांग्रेस गठबन्धनका तबदारबीच प्रतिस्पर्धा हुँदैछ । चुनावी मिति नजिकिँदै गर्दा दुवै उम्मेदवारकोे दौडधुप चलिरहेको छ । आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का कान्छा ज्वाईं पनि हुन् । उनको चर्चा यसैपनि भइरहेको छ भने अर्का उम्मेदवार चुमनारायण तबदार त्यस क्षेत्रको परिचित नाम हो । आचार्य पनि स्थानीय हुन् । क्षेत्र नम्बर ६ को १ मा विवेकशिल साझा पार्टीबाट युवा कृषक सरोज नेपाल र संघीय समाजवादीबाट थारु नेतृ मीरा भगत पनि चुनावी प्रतिस्र्धामा छिन् । तर, उनीहरू उति प्रभावशाली देखिएका छैनन् । मीरा बिजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा थिइन । तर गच्छदार काँग्रेसमा एक्लै हतारमा प्रवेश गरेर पार्टी विलय गराएपछि भगतले समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी हुन् । स्थानीय स्तरमा भगत पनि परिचित र सकारात्मक छवि बनाएकी महिला नेतृ हुन् । भगत थारु समुदायको स्थानीय उम्मेदवार भएको र कानुन व्यवसायीसमेत भएकोले चुम नारायण तबदारका लागि केही असहज बन्ने आँकलन पनि गरिएको छ ।
सोही क्षेत्रको प्रदेशसभा ‘ख’ मा नेकपा एमालेका रमेश पोखरेल गठवन्धनको उम्मेदवार बनेका छन् । राष्ट्रिय सहकारी बैंकको अध्यक्ष रहिसकेका पोखरेलको प्रतिष्पर्धामा काँग्रेसबाट बुढिगंगा गाउँपालिकामा घर भएका केदार कार्की उम्मेदवार बनेका छन् । मोरङ ६ को प्रतिनिधिसभामा भने पूर्वमन्त्री तथा एमाले पोलिटव्युरो सदस्य लालबाबु पण्डित तथा नेपाली काँग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । मोरङ ६ (१) मा विराटनगर महानगरपालिकाको ४ नम्बर वडासहित बुढीगंगा गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकाको २, ३, ४, ५, ६, ७ नम्बर वडा पर्दछन् । बुढीगंगा गाउँपालिका र विराटनगर–४ मा थारु समुदायको बाहुल्यता छ । मोरङ ६ को (२) मा विराटनगर महानगरपालिकाको ६ वटा वडाहरु समावेशछ । जसमा विराटनगर ५, ६, ७, ९, ११ र १२ वडाहरु पर्दछन् । स्थानिय तहको मत परिणको अनुसार यो मोरङ ६ मा काँग्रेस १ हजार ६ सय १७ मतले अगाडी छ । कांग्रेस र लोकतान्त्रिक फोरम २७, हजार ९ सय ९७, वाम गठबन्धन २६ हजार ३ सय ८० मत स्थानिय तहको निर्वाचननमा आएको थियो । सो निर्वाचन क्षेत्रमा अहिले थप भएको सहित १ लाख १० हजार ३ सय १० मतदाता रहेको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरको अभिलेखमा देखिन्छ ।
को हुन् जीवन आचार्य ? निम्न मध्यमवर्गीय परिवारका जीवन आचार्य मोरङ हात्तीमुडामा जन्मिएर सोही ठाउँमा हुर्केका युवा हुन् । स्थानीय समस्यासँग परिचत रहेको बताउने उनले महेन्द्र मोरङ क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका छन् । द्वन्द्वकालमा २०५८ सालदेखि माओवादी पार्टीमा संगठित भएका उनले पारिवारिक अवस्थाले गर्दा कम्युटर व्यवसाय थालेका थिए । विराटनगरमा कम्युटर व्यवसाय गदैगर्दा उनी चीनबाट कम्युटर आयात गर्ने सफल व्यवसायी बनेका थिए । पछि उनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी कान्छी पुत्रीसँग विवाह भएको थियो । पूर्व सांसद अमनलाल मोदी र आचार्य सँगसँगै विद्यालय र कलेज पढेका हुन् । आचार्यलाई यहाँ धेरैले प्रचण्डको ज्वाईं भन्दा पनि भिजनसहितको उम्मेदवारको रुपमा लिन थालेका छन् । आचार्यले विराटनगर विमानस्थलको स्तरोन्नतीमा जोड दिएका छन् । औद्योगिक क्षेत्रको संरक्षण । जोगबनी किमांथांका सडक संचालन । गछिया, पुष्पलालचोक सडक स्तरोन्नति । कृषि कलेज स्थापना । हसिना सिमसार क्षेत्र संरक्षण । दलित र गरिव विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा । आदिवासीको संग्राहलय स्थापना । युवा, महिला र बेरोजगारलाई उद्यमशिलता तालिम । आय आर्जनका कार्यक्रम संचालन । अस्पतालको स्थापना । दिगो तटबन्ध निर्माण । र युवालाई प्रविधिमैत्री बनाउने आफ्ना एजेण्डा रहेको आचार्यले बताएका छन् ।को हुन चुमनारायण ? चुमनारायण तवदार विराटनगर–४ कञ्चनबारी निवासी हुन् । पहिले नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता रहेका उनी विजय गच्छदारसँगै फोरम लोकतान्त्रिकमा गएका थिए । गच्छदार पुनः कांग्रेसमा फर्किएपछि उनी पनि काँग्रेसमै फर्किएका हुन् । स्थानीय जमिन्दार तबदार २०५६ को स्थानीय निर्वाचनमा विराटनगर ५ को वडा अध्यक्ष बनेका थिए । उनी दोस्रो संविधानसभाको पुनःनिर्वाचनमा तत्कालको मोरङ ७ नम्बर क्षेत्रमा कांग्रेसका शेखर कोइरालासँग पराजित भएका थिए । विराटनगर तथा मोरङमा तबदार राजनीतिक व्यक्तित्वको रूपमा स्थापित छन् । तबदारले आफू जितेर गएपछि त्यस क्षेत्रमा साँस्कृतिक संग्राहलयको स्थापना गर्ने, पर्यटन प्रबद्धनमा जोड दिने, फुसको छानालाई टिनको बनाउने, विद्यार्थीलाई ल्यापटप दिने, दिगो तटबन्ध निर्माण, सबै सडक कालोपत्रे बनाउने, स्वास्थ्य, शिक्षा र औद्योगिक क्षेत्रको स्तरोन्नति गर्ते, विराटनगर विमानस्थलको स्तरोन्नतिमा जोड दिने र बुढीगंगा गाउँपालिकालाई नगरपालिका बनाउने एजेण्डा लिएका छन् ।