पाँचथर/ जिल्लामा उत्पादन हुने एक अर्ब भन्दा बढी मूल्यको ओलन बजार नपुग्ने गरेको पाइएको छ । जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा उत्पादन हुने कूल ओलनको दश प्रतिशत मात्र बजारसम्म पुग्ने गरेको छ । बजारीकरणको समस्याले ९० प्रतिशत ओलनले बजार नपाएको हो ।

गत आर्थिक वर्षमा जिल्लामा गाई, भैंसी र चौरीको गरी कूल ३७ हजार नौ सय ३६ दशमलव नौ मेट्रिकटन ओलन उत्पादन भएकोमा चार हजार ३७ दशमलव चार मेट्रिकटन ओलन मात्र बजारसम्म पुगेको कार्यालयको तथ्याङ्कले देखाएको छ । बजारसम्म नपुगेको उक्त परिणामको ओलन औषत मूल्य ३९ रुपैंयाँमा बिक्री गर्दा एक अर्व ३८ करोड २० लाख ५९ हजार चार ४० रुपैंयाँ आम्दानि हुन्छ । कार्यालयका पशुसेवा प्राविधिक निरज भट्टराईका अनुसार जिल्लाका ग्रामिण क्षेत्रमा पर्याप्त मात्रामा दुग्ध प्रशोधन केन्द्र नहुँदा र बजारसम्म लैजान यातायातको भरपर्दो प्रबन्ध नहुँदा किसानले उत्पादन गरेको ठूलो परिणामको ओलन बजार पुग्न नसकेको हो ।

कार्यालयका अनुसार जिल्लामा उत्पादित ओलन दुग्ध उत्पादक सहकारी संस्थाहरुले एक लाख ११ हजार पाँच सय ७० लीटर, डेरी पसलहरुले ३७ हजार सात सय १० लीटर, छुर्पी उद्योगहरुले ६७ हजार पाँच ५० लीटर खपत गर्दै आएका छन् । त्यस्तै चिज उत्पादनका लागि ४५ हजार छ सय ९० लीटर र पनिर बनाउनलाई चार हजार नौ सय लीटर दूध खपत हुने गरेको छ । दुग्ध विकास संस्थान (डिडिसी ) ले ६९ हजार लिटर संकलन गरेर प्रशोधन तथा विक्री वितरण गर्ने गरेको पशुसेवा प्राविधिक भट्टराईले बताए ।

त्यसभन्दा बाँकि उत्पादित ओलन भने बजारीकरणको समस्याले गर्दा किसान आफैंले घिउ बनाएर बेच्ने गरेका छन् । ओलन बेच्नलाई नजिकै बजार र प्रशोधन केन्द्र नहुँदा घरैमा घरेलु उपकरण मार्फत घिउ बनाएर बेच्ने गरेको किसान बताउँछन् । उत्पादित ओलनलाई सहज रुपमा बजार पुर्याउने वातावरण राज्यले बनाइदिनुपर्ने फालेलुङ गाउँपालिका–८, गैरीगाउँका दुग्ध उत्पादक किसान सड्क जबेगुले बताए । पशुसेवा कार्यालयका अनुसार जिल्लामा ३१ हजार पाँच सय वटा स्थानीय जातका र दुई हजार आठ सय ५४ वटा उन्नत जातका दुहुना गाई रहेका छन् । त्यस्तै १४ हजार सात सय ७८ वटा स्थानीय जातका र एक हजार पाँच सय ५६ वटा उन्नत जातका दुहुना भैंसी छन् । त्यस्तै चार सय १३ वटा दुहुना चैरी रहेका छन् ।