[caption id="attachment_44094" align="aligncenter" width="800"] फायल[/caption]

मोरङ/पथरी शनिश्चरे–८ की पार्वती बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने बताइरहँदा उनकी श्रीमती पार्वतीदेवीले आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो सुखदुःखमा साथ दिने उम्मेदवारलाई मत दिने विचार व्यक्त गरिन्।

उनले भनिन्, ‘विवाह भएदेखि नै श्रीमानले रोजेको उम्मेदवारलाई भोट दिएको छु तर यसपालि म आफैँले रोजेको उम्मेदवारलाई मत दिन्छु।’ संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चिता गरेको छ। पार्वतीदेवीजस्ता महिला अब सक्षम बन्दै गएकाले आफ्नो निर्णय आफैँ गर्ने भइसकेका छन्। महिला प्रतिनिधित्वविना गाउँको सानो समितिदेखि संसद्समेत पूर्ण नहुने अवस्थामा महिला चुप लागेर बस्न नहुने उनको भनाइ छ ।

‘पुरुषले रोज्दैआएको उम्मेदवारले इमानदार भएर काम नगरेकाले नै समाजको मुहार फेरिएन’, उनले भनिन्, ‘२०५१ सालमा आफूले पहिलो पटक भोट हालेको अवस्थामा नै अहिले पनि आफ्नो गाउँ रहेको छ। महिला पुरुष, छोराछोरी, धनीगरीब, उँचनीच, जातपात, भाषा, धर्मलगायतको विभेद कायमै रहेकाले त्यसको समग्र परिवर्तन गर्ने उम्मेदवार रोज्ने काम हामी महिलाको हो।’ उनले बाटोघाटो, सिँचाइ, विद्युत्, शिक्षा, रोजगारीलगायत व्यवस्था गरेर समृद्ध समाज निर्माण गर्ने उम्मेदवारलाई यसपालि मत हाल्ने सुनाइन्।

पथरी शनिश्चरे–८, मिलनचोक सोमबारेमा चिया पसल चलाउने मैयाँ श्रेष्ठ युवकयुवतीका लागि राम्रो रोजगारीको अवसर सिर्जना गर्ने उम्मेदवारलाई मत हाल्ने बताउँछिन्। ‘छोरीचेली माइतीमा बस्दा आमाबुबा र घरमा बस्दा पति र ससुराले भनेका आधारमा भोट हाल्ने दिन गयो, अब सबै आफूले रोजेको उम्मेदवारलाई भोट हाल्ने अवस्थाको निर्माण भइरहेको छ’, उनले भनिन्। आत्मनिर्भरता आवश्यक छ र यतिखेर महिलामा आत्मनिर्भरता बढ्दै गएको छ।’

सुनबर्षी–१ की सकिना खातुनले आफूहरूले गाउँका मानिसले उम्मेदवारको गुण र अवगुणका बारेमा गरेको चर्चा सुनेर राम्रो उम्मेदवारको पहिचान गरी मत दिने बताइन्। उनले भनिन्, ‘मुस्लिम महिलाले अहिले खुलेआम चुनावीसभामा सहभागी भएर उम्मेदवारको कुरो सुनी आआफ्ना समस्यासमेत सुनाउने गरेका छन्। त्यसैले अब अरूले भन्दा पनि हामीहरू सबभन्दा राम्रो उम्मेदवारलाई रोजेर भोट हाल्न सक्षम छौँ।’

केही समय अगाडिसम्म घरमा आफ्ना पति, ससुरा र गाउँका पुरुषले उनीहरूले रुचाएको उम्मेदवारलाई भोट हाल्न सिकाउँथे तर पछिल्लो समय उनीहरुसँगै महिलाले पनि समूह बनाएर राम्रो उम्मेदवारलाई मत हाल्न सिकाउँदै हिँडेका छन्। अब महिलाहरू सक्षम बन्दै गएका छन्। प्रतिनिधिसभाका लागि छ र प्रदेशसभाका लागि १२ निर्वाचन क्षेत्र रहेको मोरङमा कुल छ लाख ४४ हजार ७८२ मतदाता छन्।

रासस