भद्रपुर । मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा झापामा झापामा ५ हजार ५ सय ३६ कर्मचारी खटिने भएका छन् । झापामा रहेका १५ वटा स्थानीय तह अन्तरगत २ सय ८३ मतदान स्थलमा ६सय ९२ मतदान केन्द्रमा कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा ६सय ३६ मतदान केन्द्र रहेको थियो । मतदाता संख्या थपिएसँगै निर्वाचन क्षेत्र फेरबल भएपछि ५५ वटा स्थल थप गरिएको निर्वाचन अधिकारी गोपाल आचार्यले बताए । एउटा निर्वाचन स्थलमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुई जना सहयोगी कर्मचारी गरी आठ जनाको टोली खटिने छ । जिल्लामा निजामति कर्मचारी, संस्थान र शिक्षक गरी १४सय ५० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको छनौट भइसकेको छ । उनीहरुलाई चाडै मतदान गराउने सम्बन्धित दुई दिने प्रशिक्षण दिइने र बाँकी अन्य कर्मचारीको छनौट कार्य पनि धमाधम भइरहेको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि कर्मचारी खटाइसकेको छ । एक हजार मतदाता बराबर एक जना कर्मचारी खटाइसकेको निर्वाचन अधिकारी आचार्यले बताए । उनका अनुसार झापामा ६सय ९३ जना कर्मचारी खटाइएको छ । सामाजिक परिचालक, बाल शिक्षक र प्रावि शिक्षकलाई मतदाता शिक्षामा खटाइएको हो । स्थानीय तहमा बदर मत बढी खसेको देखिएकोले यसपटक मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहसंग सहकार्य गरेर सञ्चालन गरिदैछ । स्थानीय तहमा गठित समितिले नै मतदाता शिक्षा कार्यक्रममा खटिने कर्मचारीहरुको अनुगमन गर्ने निर्वाचन अधिकारी आचार्यले बताए । मतदाता शिक्षा कार्यक्रमका लागि आयोगबाट प्रयाप्त सामग्री उपल्बध नभएको अवस्थामा केही समस्या परेपनि समय अभावलाई ख्याल गर्दै प्राप्त सामग्री दिएर घरदैलोमा पठाइसकेको उनले बताए ।
यता जिल्ला प्रहरी कार्यालय झापाले मतदानका दिन परिचालन गरिने सुरक्षा व्यवस्थाका लागि रणनीति बनाइसकेको छ । झापामा २सय ८३ मतदान स्थललाई सुरक्षाको दृष्टिकोले झापा प्रहरीले तीन चरणमा विभाजन गरिसकेको प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार झापामा ४९ वटा अतिसंवेदनशिल, १०५ वटा संवेदनशिल र १२९ वटा सामान्य गरी मतदान स्थलको विभाजन गरिसकेको बताए । झापा क्षेत्र नम्बर ५ मा सबै भन्दा बढी १४ वटा अतिसंवेदनशिल मतदान स्थल रहेको छ भने, झापा क्षेत्र नम्बर ३ मा ११ वटा र बाँकी १, २ र ४ वटा क्षेत्रमा ८÷८ वटा अतिसंवेदनशिल मतदानस्थल रहेको डिएसपी बस्नेतले बताए । भारतीय खुल्ला सीमावर्ती क्षेत्रसंग जोडिएको मतदान स्थल रहेकोले सुरक्षाको दृष्टिकोणले सोही अनुसारमा विभाजन गरिएको उनले बताए । केन्द्रीय सुरक्षा परिचालन निति अनुसार झापामा २ हजार प्रहरी र २७ सय ५५ म्यादी प्रहरी गरी ४७ सय ५५ प्रहरी खटाइने छ । अतिसंवेदनशील स्थलमा चार प्रहरी र १० म्यादी प्रहरी, संवेदनशीलमा तीन प्रहरी र सात म्यादी प्रहरी, सामान्यमा तीन प्रहरी र पाँच म्यादी प्रहरी खटाइने छ । साथै प्रत्येक क्षेत्रमा सात वटा मोवाईल प्रहरी गस्ती पनि परिचालन गरिने छ, भने सशस्त्र प्रहरी र नेपाली सेना पनि खटाइने छ ।
झापाको सदरमुकाम भद्रपुरमा मुख्यसहित पाँच वटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ । जिल्ला समन्वय समितिको कार्यालयमा झापा क्षेत्र १ र ३ को कार्यालय स्थापना गरिएको छ । झापा क्षेत्र नम्बर २ को जिल्ला शिक्षा कार्यालय, क्षेत्र नम्बर ४ को जिल्ला स्काउट कार्यालय र क्षेत्र नम्बर ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको हो । आयोगले तोकिएको बमोजिम झापा क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिस खिलानाथ रेग्मी, निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौका इजलास अधिकृत शिवप्रसाद पराजुलीलाई झापा क्षेत्र नम्बर १, सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मालाई झापा क्षेत्र २, सर्वोच्चका इजलास अधिकृत प्रेम खड्कालाई झापा क्षेत्र नम्बर ४ र इजलास अधिकृत शकुन्तला कार्कीलाई झापा क्षेत्र नम्बर ५ मा खटाएका छन् । सोही क्षेत्रबाट मतदान र मतगणनाका लागि कर्मचारी खटाउनुका साथै मतगणना पनि त्यही हुने निर्वाचन कार्यालयले जनाएको छ ।
झापाबाट प्रतिनिधिसभा पाँच र प्रदेशसभा १० जना निर्वाचित हुनेछन् । १५ पदका लागि १४१ जना उम्मेदवार बनेका छन् । झापामा ५ लाख ८५ हजार १६६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।