भद्रपुर । नेपाल–भारतको सीमावर्ती नाकासंग जोडिएको झापाको भद्रपुर स्थित मेची नदीमा निर्माण भएको बाँसे पुल भाँचिएको छ । छठ पर्वलाइ ध्यानमा राखेर निर्माण गरिएको अस्थायी बाँसे पुलले मान्छेको भार थेग्न नसकेर भाचिएको हो । अस्ताउदै गरेको सूर्यलाइ अघ्र्य दिएर विहीवार साँझ घर फर्किने क्रममा पुलमाथि दाहोरो भिड भएपछि पुलको पुर्वतर्फको भाग पानीमा दवेका कारण पुलमा सवार मानिसहरु नदीमा लडेका थिए । भत्किएको क्षेत्रमा पानी कम भएका कारण कुनै मानविय क्षति भने नभएको पाइएको छ । पुल भत्किएपछि पुलमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी लगायतले उद्धार गरेका थिए । कतिपय मानिसहरु नदीवाटनै आवतजावत गरेका थिए । पर्वलाइ मध्यनजर गर्दै भद्रपुर नगरपालिका कार्यालय र मैथिल समाजकै पहलमा हरेक बर्ष नदीमा बाँसे पूल बन्ने गरेको छ । बाँसे पूलकै सहयोगले ब्रतालु भक्तजनहरु पूजा सामग्री लैजान र नदीको दुवै किनारका घाट पुग्न सहज हुने गरेको छ । यसबर्ष नगरपालिकाले बाँसे पुल बनाउन करिब डेढ लाख बजेट छुटाएको थियो । पुलको लम्बाइ १ सय ५० फिट लामो रहेको छ । पुल नभए छठ पर्व खल्लो हुने गरेकोकोले दुवै देशका भक्तजनहरुको आवतजावतलाई मध्यनजर गर्दै विगत एक दशकदेखि छठ पर्वलाई लक्षित गरी नदीमा बाँसे पूल बनाउन थालिएको जनाइएको छ । दक्ष प्राविधिक भएपनि नगरपालिका र आयोजक समितिले गुणस्तरहिन पुल निर्माण गरेका कारण पुल धसिएको सवार मानिसले आरोप लगाएका छन् । पुल नदीमा धसिएको मात्र हो कुनै मानविय तथा भौतिक क्षति नभएको मैथिल समाज भद्रपुर तथा आयोजक समितिका अध्यक्ष रमेशचन्द्र झाले बताए । शुक्रवार विहानको लागि धमाधम पुल मर्मत गरिरहेको उनले जनाएका छन् । नेपालको जनकपुर पछिको दोस्रो स्थान ओगटन सफल भएसँगै छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान लगायत अन्य देशहरुबाट व्रतालु तथा भक्तजनको मेचीनदीमा उल्लेखिनिय सहभागिता रहेको थियो । नदीमा मधेशी समुदाय बाहेक नेपाली, मुस्लिम, मारबाडी, बंगाली, राजवंशी लगायतका समुदायले पनि छठ पर्व साझा पर्वको रुपमा लिएर एक साथ मनाएका थिए । मेची नदीसहित झापाका देउनिया ,कनकाइ,विरिङ्ग, रतुवा लगायतका खोला तथा पोखरिमा पनि पर्व मनाइएको छ ।