भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लामा दुई नाबालिकाको बलात्कारपछि हत्या भएको छ । प्रहरीले दुवै दिदीबहिनीको पोष्टमार्टमपछि बलात्कार भएको पुष्टि गरेको हो । दुवै बालिकाको शब खेतमा लडिरहेको अवस्था भेटिएको थियो । लखिमपुर खिरीका प्रहरी अधिकृत दीपेन्द्र नाथ चौबेले भने, ‘दुवै बालिकाको पोस्टमार्टम मेडिकल बोर्डबाट गराइएको छ । पोस्टमार्टमपछि बलात्कार गरी हत्या गरेको पुष्टि भयो ।’ चौबेका अनुसार अहिलेसम्म प्रहरीले यो घटनामा सामेल कसैलाई पनि पक्राउ गर्न सकेको छैन । उनले घटना हमीरपुर थानाक्षेत्रमा भएको र दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएका छन् । हत्या गरिएका अन्दाजी ११–१२ वर्षका ती दुवै बालिका आफ्नै दिदीबहिनी भएको जनाइएको छ । दुवै जना बालिका शनिबार जंगल गएका थिए । साँझसम्म पनि उनीहरु नफर्किएपछि खोजी कार्य सुरु भएको थियो । उनीहरुको शब गाउँदेखि करिब १ किलोमिटर टाढा उखुबारीमा मृत अवस्थामा भेटिएको हो । उत्तर प्रदेश भारतमा नै महिला र बालबालिकाका लागि सबैभन्दा असुक्षित स्थानको रुपमा लिइन्छ । उत्तर प्रदेशका नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथले महिलाका लागि सुरक्षित बनाउने दाबी गरेकै दिन दुईजना नाबालिका बलात्कृत भएका हुन् । मुख्यमन्त्री बनेपछि गोरखपुरमा दिएको आफ्नो पहिलो सार्वजनिक भाषणमा योगीले भनेका थिए, ‘हामी उत्तर प्रदेशलाई यस्तो सुरक्षित स्थान बनाउँन चाहन्छौं कि रातको १०–१२ बजेसम्म पनि घरबाट एक्लै बाहिर निस्किने युवतीहरुले सुरक्षित महसुश गर्न सकुन् ।’ उनले मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक गोरखपुरमा भाजपा कार्यकर्तालाई सम्बोधन गर्दै महिला सुरक्षामा जोड दिएका हुन् । भारतमा पछिल्ला केही वर्षदेखि बलात्कार र हत्याका घटनाहरुमा तिव्र वृद्धि भएको छ । दिल्लीमा गत वर्षमात्रै दर्जनौं बलात्कारका घटना बाहिर आएका छन् । उत्तर प्रदेशमा महिला सुरक्षा ठूलो मुद्दाका रुपमा रहेको छ । समाजवादी पार्टीको अघिल्लो सरकारमाथि समेत गुन्डागर्दी र बलात्कारका घटनामा गम्भीर नबनेको आरोप लागेको थियो । – एजेन्सी