काठमाडौं – कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति उल्टिएपछि राप्रपा महाधिवेशनमा नेतृत्वको रस्साकस्सी भएको छ । नेताहरूबीच आइतबारसम्म कुनै सहमति नभए अध्यक्षमा पार्टी अध्यक्ष थापा र राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबीच प्रतिस्पर्धा हुनेछ । आइतबार दिउँसो अध्यक्षसहित केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
नेता लोकेन्द्रबहादुर चन्दको निवासमा गत बुधबार भएको बैठकमा अध्यक्ष थापालाई सर्वसम्मत बनाउन चन्द, थापा, पशुपतिशमशेर राणा र डा. लोहनीबीच सहमति भएको थियो । तर, लोहनीले पार्टी एकताको स्पिरिटलाई विलयका अर्थमा बुझिएको भन्दै आफू अघि बढ्ने सार्वजनिक गरेपछि नेतृत्वमा भीडन्त हुने भएको हो । लोहनीले शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा पनि शक्ति सन्तुलनमा सहमति भए मात्र थापालाई सर्वसम्मत बनाउन सकिने प्रस्ट भनाइ राखेका थिए । ‘दुई पक्ष मिलेर महाधिवेशनमा जाँदै छौँ । त्यसैले दुवैको शक्ति सन्तुलन भएर जाने हो भने सहमति हुन्छ,’ उनको भनाइ थियो । अन्यथा आफूहरूले उम्मेदवारी घोषणा गर्ने जनाउ उनले दिएका थिए ।
लोहनी अध्यक्ष मात्र नभएर पदाधिकारीसमेत प्रतिनिधिले चुन्न पाउनुपर्ने पक्षमा छन् । राप्रपामा पदाधिकारीमा अध्यक्षको मात्र चुनाव हुँदा २३ पदाधिकारी अध्यक्षले मनोनीत गर्ने प्रावधान छ । यस्तो व्यवस्था राख्दा पार्टी एकता गरेकोभन्दा विलय गराएको सन्देश जाने डरका कारण लोहनीको अडान सार्वजनिक भएको निकटस्थले बताएका छन् । स्रोतका अनुसार पूर्वअध्यक्ष राणाले पनि लोहनीलाई मौन समर्थन गरेका छन् ।
विधानमा हिन्दूराष्ट्र र राजसंस्था पारित राप्रपाले विधान संशोधन प्रस्तावलाई पारित गर्दै प्रस्तावनामा सनातन हिन्दूराष्ट्र नेपाल र राजसंस्थाको विषय उल्लेख गरेको छ । महाधिवेशनले मस्यौदाका रूपमा प्रस्तुत राजासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र र सुदृढ स्थानीय स्वायत्त शासनको राजनीतिक लाइन सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको हो । यसअघि कार्यसम्पादन समितिबाट पारित प्रस्तावमा यी विषय उल्लेख थिएनन् ।
बन्दसत्रमा थापा नाचेपछि शनिबार बन्दसत्रको अन्तिममा सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । कोमल ओलीले गीत गाइन् । त्यसपछि अध्यक्ष कमल थापा र श्रीमती प्रलिता थापा उठेर नाचेका थिए । महामन्त्री राजेन्द्र लिङदेन र धवलशमशेर पनि मञ्चमै नाचेका थिए ।
कोमल वलीमा आकर्षण पार्टी प्रवेश गरेकी गायिका एवं समाचारवाचिक कोमल वलीप्रति राप्रपामा आकर्षण देखिएको छ । राप्रपाले १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान तय गरे पनि वलीले खुला केन्द्रीय सदस्यमै निर्वाचन लड्ने घोषणा गरेकी छिन् । वलीले शनिबार बन्दसत्र भइरहेको भृकुटीमण्डपको बगैँचामा ‘महिला कोटामा होइन खुलामा उठेकी छु’ भन्दै भोट मागेकी थिइन् । उनले भोट माग्दै गर्दा उनीसँग फोटो खिचाउने र सेल्फी लिनेको भीड लागेको थियो ।
भन्छिन्, पहिलो नम्बरमा जित्छु राजनीतिमा मेरो पहिलो पाइला हो । राष्ट्रवादी र देशभक्त राप्रपा, हिन्दूधर्मका लागि आवाज उठाउने, अखण्डताको पक्षमा उभिने, राजसंस्थाको विषय उठाउने पार्टी हो । यो सोच नेपालका लागि आवश्यक छ । यसैले गर्दा राप्रपामा प्रवेश गरेको हुँ । खुला सदस्यमा उठ्नु भनेको म सक्षम छु, मलाई आरक्षण कोटा चाहिँदैन भन्ने हो ।
मैले पार्टीमा एकदमै सपोर्ट पाइरहेको छु । म सत्कर्म गर्ने मान्छे, सकारात्मक विचार र सोच छ, छलकपट छैन । विद्यार्थीकालदेखि नै राजसंस्थाप्रति लगाव थियो । राजा वीरेन्द्र र रानी ऐश्वर्यले दिएको छात्रवृत्तिमा पढेर यहाँसम्म आएकी हुँ । म रङ फेर्ने, यताउति दौडने पक्षमा छैन । मलाई कमल थापाले नै पार्टीमा प्रवेश गराउनुभयो । केन्द्रीय सदस्यमा म सबैभन्दा बढी मत ल्याएर जित्छु भन्नेमा निश्चिन्त छु ।