विजयपुर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरूले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् ।

पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, मेकानिकल र आईटी इन्जिनियरिङको डिप्लोमा तहमा अध्ययनरत अन्तिम सेमेस्टरका विद्यार्थीहरूले बुधबार आफूहरूले निर्माण गरेका परियोजनाहरू प्रदर्शन गरेका हुन् ।

मोरङको बुढीगंगा गाउँपालिका ४, हात्तीमुढा स्थित पोलिटेक्निकमा बुधवार भएको प्रदर्शनका क्रममा आईटी विभागका विद्यार्थीहरूले स्मार्ट लाइब्रेरी सिस्टम, होस्टल म्यानेजमेन्ट, अनलाइन सपिङ, डिजिटल भोटिङ, आर्मी एडमिनिस्ट्रेटिभ एपदेखि स्मार्ट होम अटोमेसन र स्मार्ट होम सेक्युरिटी प्रणालीसँग सम्बन्धित एप र पोर्टलहरू प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले निर्माण गरेका सबै पोर्टल र एपहरू सहज रूपमा प्रयोगमा ल्याउन सकिने र कतिपय प्रयोगमा आउन थालिसकेको आईटी विभाग प्रमुख इन्जिनियर युवराज चौधरीले बताए ।

यसैगरी इलेक्ट्रिकलतर्फका विद्यार्थीहरूले अटो इलेक्ट्रिक हुकिङ कन्ट्रोल प्रणाली, माइक्रो हाइड्रो पावर, इलेक्ट्रिक ओभरलोड कन्ट्रोल सिस्टम, अन्डरग्राउण्ड केबल लोकेसन ट्र्याक सिस्टम लगायतका उपकरण प्रदर्शन गरे । यसैगरी इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्सका विद्यार्थीहरूले बाढी प्रकोपका बेला प्रयोग गरिने ओभर वाटर अलार्म सिस्टम, मोबाइलमा प्रयोग गर्न सकिने अटो स्मार्ट साइन ट्रान्सलेटर र पोखरीमा जमेको पानीको फोहोर सफा गर्ने रिमोट कन्ट्रोल वेस्ट कलेक्टर अनि शहरी क्षेत्रमा प्रयोग गर्न सकिने इलेक्ट्रिक अटो ट्राफिक कन्ट्रोल सिस्टम लगायतका उपकरणहरू प्रदर्शन गरे ।

मेकानिकल इन्जिनियरिङ तर्फका विद्यार्थीहरूले चाहिँ दुर्घटना कम हुने अटोरिक्सा, पेट्रोल र ब्याट्री दुवैबाट चल्ने मोटरसाइकल अनि इन्धन बिना नै प्रयोग गर्न सकिने धान काट्ने मेसिन र घाँस काट्ने इलेक्ट्रिक मेसिन प्रदर्शन गरे । सिभिल तर्फका विद्यार्थीहरूले चाहिँ विश्वविद्यालयको प्रशासनिक भवन, परीक्षा भवन, होस्टल भवन आदिको डिजाइन निर्माण गरेका थिए ।

विद्यार्थीहरूले निर्माण गरेका प्राविधिक परियोजनाको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल, रजिष्ट्रार डा. किशोर अधिकारी, संरक्षण समिति सदस्यहरू सत्यनारायण चौधरी, राजन केसी, बलभद्र थारु सहित बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा, उपाध्यक्ष अमृताकुमारी गच्छदार, उद्यमी सोमप्रसाद अधिकारी, पोलिटेक्निकका प्राचार्य इन्जिनियर सुदिप अधिकारी लगायतले अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा पालिका अध्यक्ष थापाले उत्कृष्ट परियोजनालाई परिष्कृत गर्न पालिकाले सहयोग गर्ने बताए । उद्यमी सोमप्रसाद अधिकारीले विद्यार्थीले निर्माण गरेका परियोजनाहरू लगानीकर्ता खोजेर परिष्कृत गरी बजारमा ल्याउन सके प्रभावकारी हुने सुझाव दिए । संरक्षण समिति सदस्य राजन केसीले विद्यार्थीहरूले लामो अध्ययन गरेर निर्माण गरेका परियोजनाहरूलाई बन्द कोठामा नराखी बजारीकरण गर्न सकेमा विद्यार्थीसँगै शिक्षालयको पनि नाम बढ्ने बताए ।

उपकुलपति डा. सुवासश्रीले चाँडै विश्वविद्यालयले प्रदेश सरकारसँग सहकार्य गरेर विद्यार्थीहरूले निर्माण गरेका स्टार्टअप परियोजनाहरूको बृहत् प्रदर्शनी आयोजना गराउन लागेको जानका

m1

m5