ramesधरान /रमेश बान्तवा भोजपुरका युवा अगुवा हुन् । भोजपुर जिल्लामा युवाहरु माझ लोकप्रिय पनि छन् । कुरो कार्तिक ८ गतेतिरको हो । मोटर साइकल साटफेर गर्ने उद्देश्यले उनी धरान झर्दै थिए । बाटैमा भोजपुरबाट दाइ र मामाको साइनो लगाएर दुई युवक पछि लागे । भाइ भन्नेसँग उनको तीन वर्ष अघिको चिनजान हो ।

भान्जा भनेर सम्बोधन गर्ने युवकसँग भने १ वर्ष अघिको चिनजान हो । काठमाडौँसम्म हिँडेका ती दुई युवक चिनजानकै भएकाले र आफू अगुवा समेत भएकाले सँगै जाने भनेपछि रमेशले साथ लिएर हिँडे । उनीहरुको खाने पिउनेको व्यवस्था सबै रमेशले नै गरे ।भोजपुरबाट धरान हिडेका उनीहरु साँझ आइपुगे । धरानस्थित शान्तिपथमा होटलमा बास बस्ने निधो भयो । ती दुई युवा मध्ये रमेशले भान्जाको साइनो लगाउने विकास राई नाम गरेका भोजपुर मेसमाङ घर भएका युवक भिन्नै होटलमा बास बसे । सोही ठाउँका रमेशले भाइ भनेर साइनो लगाउने सिलुहाङ राई समेत सँगै बस्ने निधो भयो । बास बस्ने निधो भएपछि ती दुबै भाइलाई लिएर रमेश आइएमइ गए मोटर साइकल साट्न आएका उनी रोयल इन्फिल्ड (बुलेट) बाइक लिने सोचमा थिए ।

झण्डै साढे तीन लाख आइएमइबाट निकालेका उनले आफूसँग रहेको एक लाख जति पैसामा मोटर साइकल लिने विचार गरेका थिए । यी सबै कुरा रमेशसँगै आउने विकास र सिलुहाङले पनि देखेका थिए । त्यस दिन साँझ परिसकेकाले मोटरसाइकल लिने कुरै भएन । आइएमइबाट उनीहरु हिँडे । रमेशले सोही दिन यति ठूलो रकम आफूसँग राख्ने भन्दा पनि भिनाजुलाई दिएर भोलिको काम चाँडो सक्न पाए हुन्थ्यो भन्ने सोचे । र, त्यो रकम भिनाजुलाई दिए । ठूलो रकम निकालेको देखिरहेका रमेशसँग आउने ती दुईभाइलाई यो कुराको पत्तै भएन । साँझ पर्यो बास बस्ने कुरा भयो । त्यो भन्दा अगाडि भाइ र भान्जाले पिउने कुरा गरे । रमेशले होटलमा एकएक प्याग दिनु भने । तर, उनीहरुले मानेनन् । त्यत्रो बाइक किन्दै हुनुहुन्छ । खुसीयाली छ, भनेपछि रमेशले एक क्वाटर मादक पदार्थ किनिदिए । र, आफू खाना खाएर सुत्न गएको बताए । विकास नाम गरेका युवकको होटल अर्कै थियो । उनी त्यतातिर जानुपर्ने थियो ।

भाइ सिलुहाङ समय थुप्रो गइसक्दा पनि नआएपछि रमेशलाई चासो भयो । उठेर हेर्न गए । सोही दिन धरानमा केही युवकका समूहहरुको झैझगडा भइरहेको थियो । सिलुहाङ ठाउँमा थिए । त्यहाँबाट उनलाई हप्काएर रमेशले होटलतिर ल्याए । रमेशकै नाउँमा उनीहरुले रक्सी समेत मगाएर खाए । रमेश भने पुनः कोठातिर सुत्न गए । उनीहरुले कति मादक पदार्थ सेवन गरे, सुतेका रमेशले पत्तै पाएनन् । सुतिरहेका रमेश तब छाँगाबाट खसेजस्ता भए तब उनीमाथि एक्कासी बज्रखसे जस्तै भयो । सँगै खाँदै रमाइलो गर्दै आएका साथीले आफ्नो टाउको माथि प्रहार गरेको देखे । उनी छक्क परे । उनले यतिसम्म भने, ‘भान्जा के गर्नु भको यो?’ उनलाई यति थाहा छ । भोजपुरबाट सँगै आएका भाइ र भान्जाले आफूमाथि ढोकामा राखिएको आग्लोले प्रहार गरिरहे ।

मुक्काले हानिरहे । त्यसपछि उनलाई के भयो थाहा छैन । जब रमेशले आँखा खोले तब समय २४ घण्टा बितेको थियो । होस्मा आउन उनलाई एक महिनै लाग्यो । अहिले पनि उनी आँखा राम्रो देख्दैनन् र पुराना कुरा झट्ट सम्झिहाल्दैनन् । भन्छन्, ‘मैले पैसा सबै भेनालाई दिएको थिएँ । मलाई लाग्छ यो आक्रमण मसँग भएको पैसाकै कारण थियो । मसँग बाँकी राखेको आठ दश हजार पैसा पनि छैन ।’ रमेशका अनुसार आक्रमण गरेपछि उनीहरुले परिचय खुल्ने सबै कागजात फ्याँकी दिएको बताए । के भन्छ प्रहरी ? इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले पिडित पक्षबाट आएको ज्यानमार्ने उद्योगकोको जाहेरीलाई आधार मानेर ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको बताए । प्रहरीको तर्फबाट कानुन बमोजीमका सम्पुर्ण प्रकृया पुरा भएका छन् खतिवडाले भने अदालतले धरौटिमा छाड्ने आदेश दिएको छ ।

कानुनमा के छ ? नेपालको मुलुकी ऐन संसोधन (२०६४)ले ज्यानमार्ने उद्योगको मुद्धामा निम्न अनुसारको सजायको ब्यबस्था गरेको छ । मुलुकी ऐन ज्यान सम्बन्धि महलको १४ नम्मरमा .ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी–चोरिकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भनिएको छ । १५ न मा ज्यान मार्नाका लागि उद्योग गरी मर्नेसम्मको जुनसुकै काम गरिसकेको सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र त्यस्तो मुख्य भै बचन दिनेलाई ददश वर्ष कैद गर्नुपर्छ ।१६ नं. मा ज्यान मार्नमा मुख्य भै षड्यन्त्र गरेको रहेछ भने त्यस्तालाई पांच वर्ष र सो षड्यन्त्रमा पसेका अरुलाई छ महीनादेखि दुई वर्षसम्म कैद गर्नुपर्छ । १७मा ज्यान मार्नालाई मतलबमा भने पसेको तर मुख्य भै बचन पनि नदिने, हात हतियार पनि नछोड्ने जीउमा पनि नछुने देहायका अवस्थाका अरु मतलबीहरुलाई ज्यान मरेको रहेछ भने देहाय बमोजिम र ज्यान मरेको रहेनछ भने देहायमा लेखिएको सजायको आधा सजाय गर्नुपर्छ –– ज्यान मार्नालाई भनी हतियार विष मागेमा जानी जानी हातहतियार गोली बारुद विष दिने वा ज्यानमार्ना निमित्त वारदात गरिरहेका ठाउँमा हतियार साथमा लिई महजूद रहनेलाई दश वर्ष कैद गर्नुपर्छ

यसो भन्छन् डाक्टरः घटनापछि रमेशलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्ष पुर्याइयो । त्यहाँ उनी तीनदिन सम्म बसे । पछि काठमाडौँ बाँसबारीस्थित न्युरो अस्पतालमा उनलको उपचार भयो । डाक्टरका अनुसार मष्तिष्कमा रगत जमेको अवस्था थियो । सुध्रँदो अवस्था र स्मरण शक्ति फर्कँदै गएको वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा बताउँछन् । भन्छन्, ‘औषधिको प्रभावका कारण ब्लड फाट्दै गएको अवस्था छ । परीक्षण गरिरहन पर्छ ।’अहिले सुधारका क्रममा रहेको रमेशको स्वास्थ्य अवस्था नियमित परीक्षण गराइरहनु पर्छ । आँखाको भागमा सुनिएको १ महिना बितिसक्दा पनि ठीक भएको छैन । आँखाको भित्री भागमा पीडा भइरहेको रमेश बताउँछन् । भन्छन्, ‘टाउको पनि एकछिन निहुराउन हुँदैन । पेन हुन्छ ।’ रमेशलाई न्युरो अस्पतालमा उपेन्द्र देबकोटाको प्रत्यक्ष निगरानीमा सुरज थुलुङ लगायतका चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए ।