धरान । काठमाडौँमा हालै सम्पन्न १६ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल आफ्ना कलेजका विद्यार्थीलाई युएन नवोदयका कलेज धरानले मङ्गलबार सम्मान गरेको छ ।

कलेजमा एक कार्यक्रमको आयोजना गरी अभिभावकको उपस्थितिमा कक्षा ११ होटल म्यानजमेन्टकी छात्रा युमी राई र कक्षा ११ कै कम्प्युटर म्यानेजमेन्टका छात्र प्रमोद राईलाई सम्मान गरेको हो ।

युमी राईले प्रतियोगितामा तेक्वान्दो खेलमा स्वर्ण पदक जितेकी थिइन् । उनले प्रदेश सरकारबाट पनि नगद एक लाख पुरस्कार पाएकी छन् । यस्तै करातेबाट प्रमोद राईले रजत पदक प्राप्त गरेका थिए । उनलाई प्रदेश सरकारले ७५ हजार पुरस्कार दिएको थियो ।

यति सानै उमेरमा खेल क्षेत्रमा उल्लेख्य योगदान दिएको भन्दै कलेजले सम्मान गरेको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट संयोजक गगनमान श्रेष्ठलगायतले अभिभावकको उपस्थितिमा दुवैजनालाई सम्मान गरेका थिए । क्याम्पस प्रमुख तुम्बापोले उनीहरू विद्यालयको मात्र गहना नभएर राष्ट्रकै गहना भएको बताए ।

यसअघि होटल म्यानेजमेन्टतर्फका विद्यार्थी करुणा राईले ३.९६ जिपिए र स्मारिका श्रेष्ठले ३.९२ जिपिए हासिल गर्दै राष्ट्रियस्तरमा दोस्रो र तेस्रो स्थान प्राप्त गरेको पनि कार्यक्रममा जानकारी दिइयो ।