
धरान / धरान–६ मा बस्दै आएका चटपटे व्यवसायी श्याम चौधरी सधै झै गत मङ्गलबार पनि कलेज रोडमा चटपटे बेच्दै थिए । रातो एभेन्जर बाइकमा आएका एक युवाले आम ग्राहकले झै चटपटे मागे । उनी चटपटे बनाउन थाले । ति युवा नजिकै आएर लगभग एकवित्ताको चक्कु भुडीमा तेर्साए । बोलिस भने मारिदिन्छु भनेपछि उनी डरले केही बोलेनन् । ती युवाले गल्लामा भएभरको पैसा थुतेर जसरी आएका थिए उसैगरी हुँइकियो । त्यसपछि उनको होसहवास गुम्यो । साढे ४ बजेको समयमा भएको त्यो घटना उनमा मात्रै सिमित भएन् । उनीजस्तै सैनिक चोकमा बसेर चटपटे बेच्ने राजेश पोद्दार, कलेज रोडमै चटपटे बेच्ने अर्जुनकुमार दास, छाताचौक र पुरानो बजार आसपास चटपटे बेच्ने सुरज राउत, विजय जैसवाल, जिमी भगतमाथि पनि उस्तै घटना घट्यो । लगभग ४ बजेदेखि ७ बजेसम्म एउटै व्यक्तिद्वारा पटक–पटक लुटपाट हुन थालेपछि अहिले उनीहरु त्रसित बन्न थालेका छन् । हालसम्म यस्तो घटना करिव ६ जनामाथि भइसकेको छ । उही युवा रातो रङ्गको एभेन्जरमा आएर चक्कु भुडीमा तेर्साउँदै फिल्मीशैलीमा लुटपाट गर्न थालेपछि अहिले उनी त्रसित बनेका छन् । ‘आम ग्राहकजसरी नै आउँछ । चटपटे माग्छ । अनी भुडीमा चक्कु देखाएर कराइस भने हान्दिन्छु भन्छ ।’ पीडित चौधरीले भने, ‘मेरो त मंगलबार र शुक्रबार गरेर ४५ सय रुपैया जति लगिदियो ।’ सैनिक चौकमा बस्ने पोद्दारको करिव साढे ३ हजार रुपैया र अर्जुनकुमारको करिव ४ हजार रुपैया लुटपाट गरेको बताए । सुरुमा आम ग्राहक जसरी नै चटपटे माग्ने त्यसपछि चटपटे बनाउन थालेपछि भुडीमा चक्कु तेस्र्याएर पैसा लुट्ने चटपटे व्यापारी अर्जुनकुमारले बताए । ती युवाको हातमा ट्याटु रहेको र हेलमेट साथै मास्कसमेत लगाएर आउने गरेको पीडितहरुले बताएका छन् । चौधरीले उक्त मोटरसाइकलको मुनीको नम्बरसमेत पत्ता लगाएको बताए । ‘माथिको नम्बर थाहा भएन् के थियो । तर, तलको नम्बरमा ७६४५ नम्बर थियो ।’ इलाका प्रहरी कार्यालय परिषरमा भेटिएका चौधरीले भने । लुटिएका पाँचजना चटपटे व्यवसायीहरुले संयुक्त रुपमा इप्रका धरानमा उजुरी दिएका छन् । उनीहरुले हुलिया, मोटरसाइकलको रङ्गको बारेमा निवेदनमा लेखेर दिएका छन् । लुटेराको यो हर्कतका कारण अहिले चटपटे व्यापारीहरु त्रसितसँगै आजित बनेका छन् । उनीहरुले शान्तिसुरक्षा गरिपाउँ भन्दै निवेदन दिएका हुन् । यता इप्रका धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले चटपटे व्यवसायीहरुले संयुक्त निवेदन दिएको बताए । उक्त निवेदनमा हुलिया र अन्य जानकारीहरुसमेत रहेकाले त्यही हुलिया र जानकारीको आधारमा अपराधी खोज्ने उनले बताए । ‘निवेदन दिएर जानु भएको छ । हुलियाको आधारमा अपराधी खोज्छौं ।’ उनले भने, ‘त्यही अनुसार पक्राउ गरी कारबाही गर्छाैं ।’ उनका अनुसार चटपटे व्यवसायीहरुले दुईजना आएर लुट्ने गरेको भनेर निवेदन दिएका छन् ।