रामप्रसाद घिताल[/caption]
नव+रात्र = नवरात्र अर्थात् नौ रात्रिको समूह। शक्तिस्वरूपा भगवतीको उपासना गर्ने पर्व। पुराणमा बताइएका चारमध्ये आश्विन (शारदीय) र चैत्र शुक्ल पक्ष (वासन्ती) को नवरात्र विशेष मानिन्छ। प्रतिपदादेखि नवमीसम्मको रातलाई लक्षित गर्दै भनिएको हो, नवरात्र। रात्र पनि नौ। नवरात्रमा उपासना गरिने देवीको संख्या पनि नौ नै। प्रतिपदा (तिथि) मा शैलपुत्री, द्वितीया-ब्रह्मचारिणी, तृतीया-चन्द्रघण्टा, चतुर्थी-कुष्माण्डा, पञ्चमी-स्कन्दमाता, षष्टी-कात्यायनी, सप्तमी-कालरात्री, अष्टमी-महागौरी र नवमीमा सिद्धिधात्री देवीको आराधना गर्ने पौराणिक/तान्त्रिक परम्परा छ।
नौ रातसम्म देवीको उपासना गरी दशौं दिन बिहान विधिपूर्वक विसर्जन गरी प्रसाद लगाउने पौराणिक विधान छ। नेपालीहरूकै कुरा गर्ने हो भने प्रतिपदाको बिहान छरिएको जौको जमरा नौ रात्री कटाएर दशमीका दिन मान्यजनका हातबाट प्रसाद लगाउने परम्परा छ। दश दिनको अवधि भएकाले वा दशमी तिथिबाट दशैं (शब्द) बनेको तथ्य खोज्न अनुसन्धान गरिरहनु पर्दैन। प्रष्ट नै छ। कतिपय सञ्चारमाध्यमले दशैं शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म अर्थात् १५ दिन मनाइन्छ भन्ने उल्लेख गरेको पाइन्छ। त्यो गलत हो। १० दिनको नवरात्र पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति पाएका पात्रोहरूका अनुसार यस वर्ष नवरात्र नौ रातको होइन दश रात्रको छ। घटस्थापना गरेको एघारौं दिनमा विजया दशमीको टीका लगाउँदैछौं, हामी। के कारणले? तिथिको घटबढ! यसपाली द्वितीया तिथि दुई दिन थियो, १६ र १७ गते। अघिल्लो दिन अहोरात्र अर्थात् ६० घडी नै रहे पनि भोलिपल्ट ४.२७ घडीपला द्वितीया थियो। दशमीसम्म १० वटा तिथि हुनुपर्नेमा एउटै तिथि दोहोरिएपछि ११ दिनमा टीका त हुने नै भयो। कहिले बढ्ने कहिले घट्ने! अघिल्लो वर्ष (वि.सं.२०७२) को पात्रोमा पनि आश्विन शुक्ल पक्षको तिथिमा विवाद थियो। प्रतिपदा २ दिन थियो।
नवरात्र नौ दिनकै रहे पनि नवमी टुटेको थियो। दशमीको दिन बिहान ७:१० बजेसम्म नवमी थियो। नवमीको पूजा सकी दशमीको पूजा विसर्जन गरी टीका लगाउन निर्देश थियो। ०७१ सालमा पनि टीका कुन दिन लगाउने भन्ने अन्योल थियो। दोलखा भीमसेनलगायतका स्थानमा पञ्चाङ्गले उल्लेख गरेको सप्तमीको अघिल्लो दिन फूलपाती भित्र्याइएको कतिलाई स्मरण नै होला। ०७० सालमा त झन् आश्विन शुक्ल पक्ष नै १३ दिनको थियो। औंशीकै दिन घटस्थापना गरिएको थियो। नवरात्रकै एक तिथि टुटी ८ दिनको नवरात्र थियो। २०६९ को आश्विन शुक्ल पञ्चमी टुटी आठै दिनको नवरात्र थियो। नवौं दिनमा विजयादशमी। तिथि कि दिन? पुराणहरूका अनुसार नवरात्र आठ वा दश दिनको नभई नौ दिनकै हुन्छ। नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजाआराधना गरी दशौं दिनमा प्रसाद ग्रहण गर्ने हो। मार्कण्डेय पुराणमा नौ रात्रीमै नवरात्रको पूजा सक्ने विधान गरिएको छ। यहाँ तिथि घटबढको कुनै अर्थ हुन्न दिन वा रात्रकै अर्थ हुन्छ। देवी भागवत महापुराणको तृतीय स्कन्ध अन्तर्गत ३० औं अध्यायमा भगवान् रामले नवरात्रको व्रत गरी दशमीका दिन विजयाको पूजा गरी रावणवधका लागि प्रस्थान गरेको उल्लेख छ, समाप्य तद् व्रतं चक्रे प्रयाणं दशमीदिने/विजयापूर्वकं कृत्वा...। त्यसअघि २६ अध्यायको तेस्रो श्लोकमा पनि नवरात्रको विधान नौ रात्रीकै भएको उल्लेख छ, ‘श्रृणु राजन् प्रवक्ष्यामी नवरात्रव्रतंशुभम्/शरत्काले विशेषेण कर्तव्यं विधिपूर्वकम्। द्वापरयुगमा भगवान् कृष्णले पनि देवीको आराधना गरेको सन्दर्भ पाइन्छ।
समाधान, वैदिक कालगणना वेदांग ज्योतिषका विद्वान् प्रमोदवर्धन कौण्डिन्न्यायनका अनुसार वैदिक तिथिहरू कहिल्यै घटबढ हुँदैनन्। बिहान सूर्योदय हुँदा जुन तिथि शुरु हुन्छ दिनरात त्यही रहन्छ, अर्को सूर्योदय नभएसम्म। तिथि टुट्नैपरे चतुर्दशी तिथि वर्षमा ६ वटा टुट्छन्। त्यसको पनि खास नियम छ। यस हिसाबले स्वाद्ध्यायशालाले निकालेको वैदिक पात्रो हेर्ने हो भने यस वर्ष २४ गते सोमबार नै विजयादशमी पर्छ तर पञ्चांग निर्णायक समितिको पात्रोअनुसार २५ गते मंगलवार टीका उल्लेख छ। सूर्यसिद्धान्तलाई आधार मानेर गणना गरिएका पात्रो चलाइएका कारण तिथि घटबढको समस्या देखिने गरेको छ। टीकाको साइत पञ्चांग निर्णायक समितिले यस वर्ष विजयादशमीको टीकाको साइत बिहान ८.४५ बताएको छ। पञ्चायतकालमा नेपाल राजकीय पञ्चाङग निर्णायक समितिले राजाका लागि साइत निकालिदिन्थ्यो। राजासहित जनताले पनि सोही समयमा टीका लगाउँथे। नेपालमा राजतन्त्रले बिदा लिएको आठ वर्ष बितिसक्दा पनि टीकाको साइतको धङधङी भने कायमै छ। लोकतन्त्र आएपछि पञ्चाङ्ग निर्णायक समिति अगाडिको राजकीय शब्द हट्यो तर साइत निकाल्ने क्रम जारी नै रह्यो। राजाको साइतमा टीका लगाउन नपाउनेहरू चुक्चुकाउँथे। राजतन्त्र गयो तर पञ्चाङ्ग निर्णायक समितिले साइत निकाल्ने परम्परा गएन। यस वर्ष पनि नवरात्र शुरु हुनुभन्दा ठ्याक्कै एक साताअघि समितिले टीकाको साइत सार्वाजनिक गर्यो। साइत किन? नवरात्रभरी देवीको पूजा गर्ने विजयादशमीको दिन टीकाप्रसाद लगाउने विधान पौराणिक हो। देवीभागवत, मार्कण्डेयपुराण आदिमा नवरात्रका विधान पाइन्छन्। दशौं दिन बिहान पूजा सकी विर्सजन गर्ने र प्रसाद ग्रहण गर्ने परम्परा छ। विभिन्न पुराणहरूमा भगवान् श्रीरामले नवरात्रको पूजा सकी दशमीको दिन बिहान प्रसाद ग्रहण गरी युद्धयात्रामा निस्केको र रावणमाथि विजयप्राप्त गरेको उल्लेख पाइन्छ। वेदाङ्ग ज्योतिषमा यात्रा आदिमा साइतको कुरा पाइँदैन। अर्वाचिन (आधुनिक) ज्योतिषको उत्पति वा विकास भएपछि साइत मुहूर्त आदि पक्षको विचार गरिन थालियो।
विशेषगरी राजा वा शासकहरूका लागि विभिन्न साइतको आवश्यकता हुन थाल्यो। निश्चित उद्देश्य लिएर हिँड्ने भएकाले केही बिघ्नबाधा नआओस् वा सफलता मिलोस् भन्ने ध्येयले ज्योतिषीले निकालेको साइतमा मात्रै निस्कने। अझ विजया दशमीको नामैले प्रष्ट हुन्छ, विजयप्राप्तिका लागि निस्कने। भगवान् रामको सहित इतिहास पुराणमा अन्य प्रसंग पनि पाइन्छन्, विजयादशमीका दिन देवीको प्रसाद ग्रहण गरी विजययात्राका लागि निस्किएको। साइतको चलन कहिलेदेखि? पहिलेपहिले गाउँघरमा दशैंको टीकाको लागि साइत हेर्ने चलन खासै नभएको बुझिन्छ। नौ दिन नौ रातसम्म आराधना गरिएकी देवीको नियमित पूजा गरी जया, विजया अपराजिताको समेत पूजा गर्ने चलन रहेको छ। यससँगै नवरात्रको पूजा विसर्जन गरिन्छ। घडाको जलले अभिषेक गरी घरका सबैभन्दा ज्येष्ठ सदस्यको हातबाट टीका प्रसाद लगाइने गरिन्थ्यो।
एकाबिहानै निधारमा राता टीका र शिरमा पहेँला जमरा लगाएर आफन्तकहाँ टीका लगाउन जानेको लर्को देखिन्थ्यो। सञ्चारमा भएको विकास र ज्योतिषको प्रचारले गर्दा हिजोआज टीका लगाउनमा मात्र नभई अन्य कार्यमा पनि साइत हेर्ने फेशन चलेको देखिन्छ। हिजोआज नवरात्र सुरु हुनुअघि नै सर्वसाधारणको ध्यान विजयादशमीको टीकाको साइत कतिखेर होला भन्नेतिर जाने गरेको पाइन्छ। सर्वसाधारणलाई साइत वैदिक कालगणनाअनुसार बिहानीपखको समयलाई राम्रो मानिन्छ। मांगलिक कार्य गर्दा बिहानको समय पार्नु भन्ने वेदांग ज्योतिषको। निर्देश छ। मांगलिक कार्य गर्दा मध्याह्न हुनुअगाडि नै बिहानको कलिलो घाम छँदै गर्नुपर्छ मध्याह्नसम्म नपुर्याएकै राम्रो। घरमा मान्यजनसँग टीका थापी सम्भव भएसम्म अन्य मान्यजनकहाँ जानुपर्ने हुन्छ। हामी त देवीको प्रसाद मान्यजनको आशिर्वादसहित लगाउन लागेका हौं। हामी कुनै युद्धयात्राका लागि निस्कन लागेका होइनौं। माथिका प्रसंग बुझिसकेपछि तपाईँ हामीले साइत कुरिरहनुपर्ने वा साइत भेट्टाइएन भनेर चुक्चुकाउनुपर्ने आवश्यकता नै रहेन। [email protected] (नेपाल संस्कृत विश्वविद्यालयबाट ज्योतिषशास्त्रमा आचार्य र त्रिविबाट नेपाली साहित्यमा स्नातकोत्तर लेखक हिमालय टिभीका समाचार सम्पादक हुन्।) थाहा खबरबाट