goru

भद्रपुर/ झापाको प्रहरी–प्रशासनले गाईगोरु तस्करी नियन्त्रणमा खासै चासो नदेखाउँदा पछिल्लो समय ज्यामिरगढी नाका गाईगोरु तस्करीको मुख्य अखडा बनेको छ । भन्सार प्रज्ञापनपत्रविना सो नाकाबाट हप्तामा ५ देखि ७ सयको सङ्ख्यामा गाईगोरु भारत निकासी हुने गरेको पाइएको छ ।भारत पठाउन तयारी अवस्थामा राखिएको गोरु स्थानीय युवा समूहले बुधबार राति ज्यामिरगढी–३ स्थित चौधरी चोक अड्डीबाट नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको छ । भारतबाट नेपाल भित्रिएका गाईगोरु कोशी नदीपारि हुँदै झापा आउने गरेको छ । झापाको नकलबन्दापछिको मुख्य नाका पछिल्लो समय ज्यामिरगढी बनेको छ ।

कोशीपारिबाट आउने गाईगोरु ट्रकमा लोड गरेर यहाँ ल्याउने गरिएको स्थानीयको भनाइ छ । एउटा ट्रकमा कम्तीमा ३५ देखि ४० वटाको सङ्ख्यामा गाईगोरु ज्यामिरगढी हुँदै भारत पठाउने गरिएको स्थानीयले बताए । ज्यामिरगढीबाट भारतको बङ्गालस्थित अधिकारी बजार नजिकै पर्ने भएकोले झापाका गाईगोरु पारि लैजान तस्कर समूहले यस नाकालाई प्रयोग गरेकोे बुझिएको छ ।स्थानीय युवाले बुझाएको ४० देखि ५० वटा गोरु शुक्रबारसम्म प्रहरीकै नियन्त्रणमा रहेको ज्यामिरगढी प्रहरी चौकीका इन्चार्ज सई जीवबहादुर कार्कीले बताए । भन्सार प्रज्ञापनपत्रविना लैजान राखिएको गोरु प्रहरीकै नियन्त्रणमा रहेको उनले जनाए । प्रज्ञापनपत्र काटेर आएमा छाडिदिने उनको भनाइ छ । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले मेचीसहित झापाका केही छोटी भन्सारलाई गोरु भारत निकासीका लागि प्रज्ञापनपत्र काट्ने अनुमति दिएको छ ।

एक लटमा १ सय १३ रुपैयाँ तिरेर हुलका हुल गोरु भारत लैजाने प्रावधान रहे पनि नकलबन्दा छोटी भन्सारबाहेक कुनै पनि छोटीमा गोरु निकासीका लागि व्यापारी वा तस्करले प्रज्ञापनपत्र भरेको अभिलेख देखिँदैन । गाईगोरु तस्कर समूहले नकलबन्दा छोटी भन्सारबाट आप्mनो बचाउ तथा कानूनी प्रक्रिया पूरा गर्नलाई गोरुको भन्सार प्रज्ञापनपत्र बनाएर ज्यामिरगढी नाकाबाट लैजाने गरेको बुझिएको छ । उनीहरुले पहिला ज्यामिरगढी नाकाबाट दैनिक १० देखि १५ वटा गाईगोरु लुकाएर भारत लैजाने गरेका थिए । अहिले खुलेआम ट्रकका ट्रक गाईगोरु ज्यामिरगढीमा भण्डारण गर्ने र प्रहरीकै आँखाअगाडिबाट भारत लैजाने गरिएको स्थानीय वेदराज काप्mलेले बताए । यो नाकामा खुलेआम गाईगोरु तस्करी बढेकोले स्थानीयलाई राति सुत्न समस्या हुन थालेको छ । एक सयको हाराहारीमा रहेका गाईगोरु पिटानीहरु यहाँ आउने र खेतबारीबाटै गाईगोरु लैजाने गरिएकोले स्थानीयको अन्नबाली नष्ट हुन थालेको स्थानीय बाबु ताहानले बताए । यो नाकाबाट हप्तामा एक करोडभन्दा बढीका गाईगोरु भारत निकासी हुने गरेको जानकारहरु बताउँछन् ।