धरान– दुलही भएर पनि दुलाहाको घर जना नपाउँदा एउटी नारीलाई कस्तो हुन्छ होला ? ती दुलहीको मनमा कस्तो पीडा हुन्छ भन्ने सामान्य अनुमान गर्न सकिएला तर अनुभव गर्न पक्कै नसकिएला । तर निर्देशक भोला अधिकारीले त्यो कथावस्तुलाई समेटेर एउटा नाटक ‘मनोवेदना’ निर्माण गरेका छन् ।१७९४ सालताकाको परिवेशलाई समेटिएको नाटक ‘मनोवेदना’ मञ्चनको अन्तिम तयारीमा पुगेको छ ।
पृथ्वी नारायण शाहले एकीकरणको बेलामा मकवानपुर राज्यकी राजकुमारी इन्द्रकुमारी सेनसँग विवाह गरे । तर राजा हेमकर्ण सेनले विवाह भएकी छोरीलाई पृथ्वीनारायण शाह अर्थात ज्वाईँलाई साथ लगाएर पठाउन सकेनन् । गोरखाका राजा पृथ्वी नारायण शाह बेहुली नलिई रित्तै फर्के । दुलही भएर पनि दुलाहको घर जान नपाएकी इन्द्रकुमारीको पीडा यस नाटकमा चित्रण गरिएको छ । वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्वारा लिखित ऐतिहासिक तथा नारी प्रधान नाटक ‘मनोवेदना’ मञ्चनका लागि अन्तिम तयारी अवस्थामा पुगेको हो ।
ख्वाःपाः नाट्यशालामा करिब एक महिनादेखि रिहर्सल भइरहेको नाटक चाँडै प्रदर्शनमा आउने निर्देशक भोला अधिकारले जानकारी दिए । ऐतिहासिक नाटक भएका कारण पनि प्रस्तुत गर्नु निकै गाह्रो भएको बताउँदै उनले गाह्रो कुरालाई सहज रुपमा अभ्यास गराउँदै आएको बताएका छन् । यस नाटकलाई २०५६ सालमा ‘बगर’ नामक पत्रिकाले उत्कृष्ट नाटकका रुपमा प्रकाशित गरेको थियो । यही नाटकबाट भोला अधिकारीले नाटक निर्देशनमा डेब्यु गर्दैछन् ।
नाटक बैशाख १८ र २५ गते मञ्चन हुने निर्देशक अधिकारीले जानकारी दिए । नाटकमा उमा तामाङ, प्रदीप खड्गी, प्रदीप नेपाल, दिपुमाया तामाङ, सुमित्रा मगर, अर्जुन बोहोरा, शिवानी बोहोरा, सबिना श्रेष्ठ, सुशान्त तामाङ, बाबु लामा, दीक्षा तामाङ, कुमारी तामाङ, रोशनी सापकोटा, देव क्षेत्री, भोला अधिकारी लगायतका कलाकारको अभिनय रहने छ ।